तपाईँ सुन्दै हुनुहुन्छः

सैनिक साहको कुशको शव बनाएर अन्तिम संस्कार

बारा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी एक महिनाअघि बेपत्ता भएका नेपाली सेनाका जवान सुरजकुमार साहको कुशको शव बनाएर शनिबार अन्तिम संस्कार गरिएको छ ।

बाराको सुवर्ण गाउँपालिका–१ सोलकपुर कुम्हटोली निवासी साह नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत थिए । गत भदौ १० गते ड्युटीमा रहेका बेला भोटेकोशी नदीमा आएको बाढीमा परी उनी बेपत्ता भएका थिए ।

खोजीका क्रममा समेत साहको अवस्थाबारे यकिन हुन नसकेपछि परिवारले धार्मिक परम्पराअनुसार उनको प्रतीकात्मक शवका रूपमा कुशको शव तयार पारी अन्तिम संस्कार गरेको हो ।

अन्तिम संस्कारअघि नेपाली सेनाले साहप्रति सैनिक सम्मान अर्पण गर्दै सलामी दिएको थियो । परिवारजन, आफन्त र स्थानीयवासीको उपस्थितिमा टियरी नदी किनारमा उनको दाहसंस्कार गरिएको हो ।

अन्तिम संस्कार कार्यक्रममा सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, नेपाली कांग्रेसका नेता सतेन्द्र यादव, जेन्जी अगुवा अजय यादव, नेपाली सेनाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button