तपाईँ सुन्दै हुनुहुन्छः

राप्तीमा पानीको सतह बढेपछि बाँकेका तटीय बस्तीमा बाढी र कटानको जोखिम

बाँके । बाँकेमा बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि नदी तटीय क्षेत्रका बासिन्दा बाढी र कटानको जोखिममा परेका छन्। निरन्तर वर्षाका कारण नदीमा पानीको बहाव बढेपछि राप्ती सोनारी गाउँपालिकादेखि नरैनापुर गाउँपालिकासम्मका तल्लो तटीय क्षेत्रमा जोखिम बढेको हो।

राप्ती नदीले राप्ती सोनारी गाउँपालिका–२ देखि नरैनापुरसम्मका विभिन्न तटीय क्षेत्रमा वर्षेनी डुबान र कटान गर्दै आएको स्थानीयको भनाइ छ। स्थायी तटबन्ध निर्माण हुन नसक्दा नदीले कतै वारि र कतै पारितर्फ खेतीयोग्य जमिन कटान गर्दै आएको राप्ती सोनारी–७ नयाँ बस्ती फरेदागाउँका स्थानीय शङ्कर यादवले बताउनुभयो।

उहाँका अनुसार राप्ती सोनारी र नरैनापुरका तटीय क्षेत्रका करिब एक दर्जन बस्तीका सयौँ बासिन्दा हरेक वर्ष बाढीको त्रासमा बस्न बाध्य छन्। नदीले दिनहुँजसो खेतीयोग्य जमिन कटान गर्दै आएको र हालसम्म सयौँ बिघा जमिन कटानमा परिसकेको उहाँले बताउनुभयो।

राप्ती सोनारी–६ र ७ का सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया र देउपुर्वा लगायतका बस्ती तथा नरैनापुरका गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा र कुडुवा लगायतका क्षेत्र बाढी र कटानको जोखिममा रहेको नरैनापुर–६ गङ्गापुरका स्थानीय अगुवा सोहनलाल यादवले बताउनुभयो।

यस्तै, राप्ती सोनारी–२ कचनापुरका अगैया, गोबरपुर, माथेवास, खोरिया, मदुई, हरिहरपुर, अम्रहवा, टिकुलीपुर, शम्शेरगञ्ज र राजपुर तथा वडा नं. ३ बैजापुरका विभिन्न टोलमा पनि वर्षायाममा डुबान र कटानको जोखिम रहने वडाध्यक्ष मिनकुमार चौधरीले बताउनुभयो। नदी किनारमा पर्याप्त तटबन्ध नहुँदा हरेक वर्ष बाढीले दुवैतर्फको सयौँ बिघा खेतीयोग्य जमिन कटान गर्ने गरेको उहाँले बताउनुभयो। अहिले पनि वर्षासँगै नदीमा पानीको सतह बढिरहेकाले स्थानीयलाई सचेत गराउने र सम्भावित जोखिमबारे जानकारी गराउने काम भइरहेको उहाँको भनाइ छ।

यसैबीच, राप्ती सोनारी गाउँपालिकाले बाढी तथा डुबानको सम्भावित जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारीलाई तीव्रता दिएको जनाएको छ। गाउँपालिका अध्यक्ष तप्त पौडेलले सम्भावित बाढी र डुबानबाट प्रभावित हुन सक्ने नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि पाँच वटा सुरक्षित आश्रय स्थल तयारी अवस्थामा राखिएको बताउनुभयो। उहाँका अनुसार ती आश्रयस्थलमा करिब एक हजार पाँच सयदेखि दुई हजार जनासम्मलाई राख्न सकिने व्यवस्था मिलाइएको छ। 

वर्षा निरन्तर भइरहेकाले नदीको जलस्तर थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय तहले आग्रह गरेका छन्। स्थानीयवासीले भने तत्कालका लागि सतर्कता अपनाउनुका साथै दीर्घकालीन रूपमा बाढी र कटानको समस्या समाधान गर्न नदी नियन्त्रण तथा स्थायी तटबन्ध निर्माणलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button