सप्तकोशीमा पानीको बहाव बढेसँगै ३५ वटा ढोका खोलियो

काठमाडौँ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि सप्तकोशी ब्यारेजका ३५ वटा ढोका खोलिएको छ।
आज साँझ ५ः१५ बजे गरिएको जलसतह मापनअनुसार कोशी ब्यारेजमा प्रतिसेकेन्ड २ लाख ६५ हजार ७९५ क्युसेक पानीको बहाव हुँदा ३५ वटा ढोका खोलिएको छ।
आज मध्यान्ह १२:१५ बजे गरिएको जलसतह मापनअनुसार कोशी ब्यारेजमा प्रतिसेकेन्ड २ लाख १७ हजार ४१५ क्युसेक पानीको बहाव हुँदा २८ वटा ढोका खोलिएका थियो। त्यस्तै, दिउँसो १ः१५ बजे पानीको बहाव प्रतिसेकेन्ड दुई लाख २९ हजार ९६० क्युसेक पुगेपछि ३० वटा ढोका खोलिएकामा दिउँसो २ः१५ बजे पानीको बहाव दुई लाख ४० हजार ५५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको थियो । त्यसैगरी, दिउँसो ४ः१४ बजे पानीको बहाव प्रतिसेकेन्ड २ लाख ६२ हजार २३० क्युसेक पानीको बहाव पुगेपछि ३४ वटा ढोका खोलिएको थियो ।
सप्तकोशीमा बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको सूचना जारी गरिएको छ । कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र चार वटा नहर गरी जम्मा ५६ वटा ढोका छन् ।








प्रतिक्रिया राख्नुहोस्