बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर वर्षा

काठमाडौँ । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले देशभर वर्षा भइरहेको छ ।
आज दिनभर कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले वर्षा गराउने प्रणाली पश्चिम तर्फ सर्दै गएकाले अव कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भागमा हल्का र मध्यम सम्मको वर्षा हुनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी तथा केही स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिनुभयो।
मौसम विभागका अनुसार भोली शनिबार दिउँसोसम्म देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली भू–भागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
वर्षा गराउने प्रणाली आगामी आइतबार सम्म सक्रिय रहने र सोमबारबाट क्रमशः सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षासँगै बागमती, गण्डकी र कर्णाली प्रदेशका केही हिमाली क्षेत्रमा आज हिमपात समेत भएको छ ।
आगामी दिनमा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का र केही स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको मौसमविद् दाहालले बताउनुभयो ।
लगातारको वर्षाका कारण काठमाडौँ उपत्यका सहित देशैभरका नदी तथा खोलानालामा जलप्रवाह बढेको छ ।
नदीहरूमा जलसतह बढिरहेको र यो अवस्था आइतबारसम्म नै कायम रहेन हुनाले आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्