तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा घरदैलोमै पुगेर स्क्रब टाइफसको परीक्षण र उपचार

सल्यान । सल्यानमा स्क्रब टाइफस महामारीका रूपमा फैलिन थालेपछि स्वास्थ्यकर्मीहरू गाउँ–गाउँ र घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण तथा उपचारमा जुटेका छन् ।  दार्मा गाउँपालिका, बागचौर नगरपालिका लगायतका क्षेत्रमा संक्रमण बढ्दै गएपछि यसको रोकथाम, परीक्षण र उपचारका लागि द्रुत प्रतिक्रिया टोली परिचालन गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार दार्मा गाउँपालिकामा मात्र हालसम्म स्क्रब टाइफसका कारण सात जनाको मृत्यु भइसकेको छ भने एक सयभन्दा बढी स्थानीय संक्रमित भएका छन् ।  समुदायमा रोगको पहिचान, उपचार, परामर्श तथा आवश्यक बिरामीलाई थप उपचार गर्न चिकित्सक, प्रयोगशालाकर्मी र स्वास्थ्यकर्मी सम्मिलित द्रुत प्रतिक्रिया टोली प्रभावित बस्तीमा पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले जानकारी दिनुभयो । 

उहाँका अनुसार दार्माका अतिप्रभावित क्षेत्रमा सञ्चालन गरिएको तीनदिने शिविरमा ५३२ जनाको प्रयोगशाला परीक्षण गर्दा ११४ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । दार्माका गाउँपालिकाका वडा नम्बर १, ५ र ६ मा सङ्क्रमणको प्रभाव बढी देखिएको उहाँले बताउनुभयो । 

यस्तै, बागचौर नगरपालिका ५ मा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा पनि १० जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । शिविरमा ७३ पुरुष र १८१ महिला गरी कुल २५४ जनाले सेवा लिएका थिए । स्क्रब टाइफस तथा डेङ्गीको आशङ्कामा १११ जनाको रगत परीक्षण गर्दा १० जना महिलामा स्क्रब टाइफस पोजिटिभ देखिएको रिजालले बताउनुभयो ।  संक्रमित बिरामीलाई आवश्यक परामर्श, औषधि उपचार तथा अन्य सेवाग्राहीलाई रोगबाट बच्ने उपायबारे जानकारी गराइएको उहाँले जानकारी दिनुभयो । 

सल्यान जिल्ला अस्पतालका डा. बालाराम केसीका अनुसार स्क्रब टाइफस मुसामा लाग्ने किर्ना जस्तो देखिने माइट नामक किराको टोकाइबाट मानिसमा सर्ने रोग हो ।  यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा भने सर्दैन । 

डा. केसीले खेतबारी, वनजंगल, झाडी तथा घाँस भएको क्षेत्रमा काम गर्दा पूरा शरीर ढाकिने कपडा र बुट लगाउन, भुँइमा सीधै नबस्न तथा चउर वा घाँसवारीमा बस्दा गुन्द्री वा दरी प्रयोग गर्न सुझाव दिनुभयो ।  साथै घर वरिपरि झाडी र घाँस बढ्न नदिने, मुसाको नियन्त्रण गर्ने तथा अन्न सुरक्षित रूपमा भण्डारण गर्न सके स्क्रब टाइफसको जोखिम कम गर्न सकिने उहाँको भनाइ छ ।

संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सेवा कार्यालय सल्यानले जिल्लाका विभिन्न स्थानीय तहमा परीक्षण, निगरानी र जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button