तपाईँ सुन्दै हुनुहुन्छः

न्यून चापीय प्रणालीको सम्भावित प्रभाव : बाँकेमा सतर्कता बढाइयो

बाँके । बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीको सम्भावित प्रभावलाई मध्यनजर गर्दै बाँकेमा विपद् पूर्वतयारी तथा समन्वयका गतिविधि तीव्र पारिएको छ ।

सम्भावित वर्षा, बाढी तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै नेपालगञ्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकाले एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला मनसुन कमाण्ड पोस्टमार्फत पूर्व तयारीका विभिन्न कार्य भइरहेका बेला बिहीबार जिल्लाका विषयगत निकाय, स्थानीय तहका विपद् सम्पर्क व्यक्ति, विपद् व्यवस्थापनमा क्रियाशील सङ्घसंस्था, सुरक्षा निकाय तथा सञ्चारकर्मीको सहभागितामा पूर्वतयारी तथा समन्वय बैठक सम्पन्न भएको हो ।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा बसेको बैठकले मौसम पूर्वानुमान तथा विपद्सम्बन्धी सूचनाको प्रभावकारी प्रचारप्रसार गर्दै सम्भावित जोखिमप्रति सतर्कता अपनाउने निर्णय गरेको छ ।

बैठकले बाढी, डुबान, कटान तथा पहिरोको जोखिममा रहेका बस्तीको अवस्था विश्लेषण गरी सुरक्षित आश्रय स्थल तथा खुला स्थानको व्यवस्थापन गर्न स्थानीय तह तथा विषयगत कार्यालयलाई निर्देशन दिएको छ । सम्भावित विपद्का कारण सडक अवरुद्ध हुन नदिन आवश्यक उपकरण तथा जनशक्ति तयारी अवस्थामा राख्नसमेत भनिएको छ ।

नरैनापुर गाउँपालिका बाढी तथा डुबानको उच्च जोखिममा रहेको भन्दै गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले पालिकावासीलाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । 

उहाँले मौसमको अवस्था तथा सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन, नदी तथा खोलानालाको आसपास नजान र विपद्सम्बन्धी सूचना प्राप्त भएमा त्यसको पालना गर्न पालिकावासीलाई आग्रह गर्नुभएको हो ।

त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई विपद् प्रतिकार्यका लागि खोज तथा उद्धार टोली तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । नेपाल रेडक्रस सोसाइटीलगायत गैरसरकारी संस्थालाई उद्धार तथा राहतका कार्यमा जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वय गरी परिचालन हुन आग्रह गरिएको छ ।

बैठकले विद्युत्, खानेपानी तथा दूरसञ्चारजस्ता अत्यावश्यक सेवा निरन्तर सञ्चालनमा राख्न सम्बन्धित निकायलाई जिम्मेवार बन्न निर्देशन दिएको छ । साथै मौसम तथा विपद्सम्बन्धी सतर्कता सूचना समयमै नागरिकसम्म पुर्‍याउन सञ्चारमाध्यमलाई सहयोग गर्न आग्रह गरिएको छ ।

सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सबै निकायबीच प्रभावकारी समन्वय, सूचना आदानप्रदान र तत्काल प्रतिकार्यको व्यवस्था मिलाउने निर्णयसमेत बैठकले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button