तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुराको प्रसिद्ध लाटागन्याप देवताको शिखर जाँत असोज ८ गते

डडेल्धुरा। डडेल्धुराको गन्यापधुरामा अवस्थित प्रसिद्ध लाटागन्याप देवताको शिखर जाँत आगामी असोज ८ गते हुने भएको छ।

गन्यापधुरा गाउँपालिका-२ को महाभारत वनक्षेत्रको घना जङ्गलस्थित शिखर भन्ने स्थानमा भगवान् शिवका रूपमा लाटागन्यापको धूमधामका साथ पूजाआजा गरी जाँत मनाइने परम्परा छ। जाँतका लागि विभिन्न ६ वटा गाउँबाट देउरो लैजाने गरिन्छ। गन्यापधुरा गाउँपालिकाका मालिगाउँ, रुमायल, जैसेरा र रेल तथा डोटीको शिखर नगरपालिकाका थप्सा र बानीडुग्रेसैनबाट संयुक्त रूपमा देउरो लैजाने परम्परा रहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो। देउरो लैजाने क्रममा विभिन्न स्थानमा दाइन, दमाहा तथा भोक्कर बजाउने गरिन्छ।

यसैबीच जाँतका अवसरमा असोज ८ गते गन्यापधुरा गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर विष्टद्वारा जारी सूचनाअनुसार असोज ८ गते बिहीबार शिखर मेला पर्ने भएकाले गाउँपालिकाको कार्यालय, मातहतका सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा बिदा दिइएको हो।

गाउँपालिकाको नामसमेत यिनै प्रसिद्ध लाटागन्याप देवताको नामबाट राखिएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button