तपाईँ सुन्दै हुनुहुन्छः

संविधानले नागरिककाे सर्वाेच्चता कायम गरेकाे छ: मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ भव्य रूपमा मनाएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय परिसरमा आयोजित विशेष समारोहका बीच प्रदेश प्रमुख नजिर मियाँले संविधान दिवसको उद्घाटन गर्नुभयो।

समारोहमा प्रदेशका मुख्यमन्त्री खगराज भट्ट, सभामुख भीमबहादुर भण्डारी, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, मन्त्रीगण, प्रदेश सभा सदस्यहरू तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा विभिन्न सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो।

समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री खगराज भट्टले नेपालको संविधानले जनताको सर्वोच्चता कायम गर्दै सबै नागरिकका हक अधिकार सुनिश्चित गरेको बताउनुभयो। संविधानले सबै जातजाति, भाषा, धर्म र संस्कृतिका नागरिकको अधिकार ग्यारेन्टी गरेको उल्लेख गर्दै उहाँले वर्तमान संविधान लोकतान्त्रिक पद्धतिको एक विकसित दस्तावेज भएको स्पष्ट पार्नुभयो।

मुख्यमन्त्री भट्टले संविधानको मर्म र भावनाअनुसार मुलुकलाई अग्रगमनको बाटोमा अघि बढाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो। संविधानले प्रत्याभूत गरेका अधिकारको संरक्षण एवं प्रभावकारी कार्यान्वयनमा जोड दिँदै उहाँले लोकतान्त्रिक मूल्य, मान्यता तथा समावेशी व्यवस्थालाई थप सुदृढ बनाउन सबै पक्ष जुट्नुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button