मन्त्री साह र उद्योगमन्त्री पीयुष गोयलबीच भेटवार्ता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलबीच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ ।
एकतीसौँ पार्टनरसिप समिट २०२६ मा सहभागी हुने क्रममा भएको उक्त भेटवार्तामा नेपाल–भारतबीचको व्यापार, पारवहन, औद्योगिक सहकार्य, लगानी प्रवर्द्धन, गुणस्तर प्रमाणीकरण तथा नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचलगायतका महत्वपूर्ण विषयमा विस्तृत छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको हो ।
भेटवार्तामा मन्त्री साहले नेपाली उद्योगले भारतीय बजारमा प्रवेश गर्दा गुणस्तर प्रमाणीकरण तथा भारतीय मानक ब्यूरो (बिआइएस)को प्रमाणपत्र प्राप्त गर्न भोग्नुपरेका प्रक्रियागत जटिलता, समय र लागतसम्बन्धी समस्याहरू प्रस्तुत गर्नुभयो ।
उहाँले नेपाली सिमेन्ट, स्टिल, प्लाइउड, जुत्ता, धागो तथा अन्य औद्योगिक उत्पादनको प्रमाणीकरण प्रक्रियालाई सरल, सहज बनाउन आग्रह गर्नुभयो ।
नेपालमा बिआईएस मापदण्ड अनुरूपको परीक्षण प्रयोगशाला स्थापना गर्ने प्रस्तावप्रति भारतीयमन्त्री पीयुष गोयलले सकारात्मक चासो र तत्परता व्यक्त गर्नुभयो ।
उहाँले उक्त विषयलाई अगाडि बढाउन आफ्नो मन्त्रालयका सम्बन्धित सचिवलाई आवश्यक समन्वय तथा प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिनुभयो ।
भेटवार्तामा नेपालका लागि भारतका धाम्रा (ओडिशा) र मुन्द्रा (गुजरात) बन्दरगाहलाई थप पारवहन सुविधाका रूपमा उपलब्ध गराउने, नेपाल–भारत व्यापार सन्धिको पुनरावलोकन प्रक्रिया अघि बढाउने तथा काँकडभिट्टा–फुलबारी–बङ्गलाबन्ध मार्गमा नेपाली मालवाहक सवारीसाधनले भोग्दै आएका अतिरिक्त भारवहन प्रतिबन्ध र ढुवानीसम्बन्धी अवरोध हटाउने विषयमा छलफल भएको थियो ।
त्यसैगरी कोलकाता बन्दरगाहमा नेपाल ट्रान्जिट एण्ड वेयरहाउसिङ कम्पनी लिमिटेडको लिजमा रहेको जग्गा नवीकरण वा उपयुक्त वैकल्पिक जग्गा उपलब्ध गराउने विषयमा छलफल भएको थियो ।
त्यसैगरी, नेपाली जुटजन्य उत्पादनमा लगाइएको एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ शुल्कको पुनरावलोकन, नेपाली चियाको भारतीय बजारमा निर्बाध प्रवेश तथा कृषि उत्पादनको गुणस्तर परीक्षण र प्रमाणीकरणलाई सहज बनाउने विषयमा समेत छलफल भएको छ ।
नेपाली खाद्यवस्तुको परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतका योग्य तथा मान्यताप्राप्त प्रयोगशालाबाट जारी हुने परीक्षण प्रतिवेदनलाई भारतीय निकायबाट मान्यता प्रदान गर्ने र नेपाल–भारत सीमावर्ती क्षेत्रमा गुणस्तर परीक्षण सुविधा विस्तार गर्ने प्रस्तावसमेत प्रस्तुत गरिएको थियो ।
मन्त्री साहले नेपाल र भारतबीचको व्यापार सम्बन्धलाई अझ सुदृढ बनाउन आपसी विश्वास, समान व्यवहार, गुणस्तरीय उत्पादन र सरल व्यापार प्रक्रियालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभएको थियो ।
भारतीयमन्त्री गोयलले प्रस्तुत विषयहरूमा सकारात्मक चासो व्यक्त गर्दै सम्बन्धित निकायबीच समन्वय र प्राविधिक छलफलमार्फत समाधानका उपाय अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
भेटवार्ताले नेपाल–भारतबीचको आर्थिक तथा औद्योगिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता वृद्धि, निर्यात प्रवर्द्धन र व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छलफलमा उठाइएका विषयको कार्यान्वयनका लागि भारतीय पक्षसँग आवश्यक संस्थागत समन्वय र निरन्तर अनुगमन गर्ने बताइएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्