संविधान दिवसमा शहीद तथा बेपत्ता परिवार सम्मानित
बर्दघाट, नवलपरासी। बर्दघाट नगरपालिकाले संविधान दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा विभिन्न आन्दोलनका क्रममा प्राण आहुती दिएका तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई सम्मान गरेको छ।

नगरपालिकाको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा बर्दघाट नगर क्षेत्रका १२ जना शहीद तथा बेपत्ता परिवारका सदस्यलाई दोसल्ला ओढाई सम्मान गरिएको हो। नगरपालिकाको अभिलेखअनुसार बर्दघाटमा विभिन्न आन्दोलनका क्रममा शहीद तथा बेपत्ता भएका १६ जनाको तथ्याङ्क रहेको महिला तथा बालबालिका शाखा प्रमुख मालती लम्सालले जानकारी दिनुभयो।
कार्यक्रममा शहीद परिवारका तर्फबाट बोल्दै अर्जुन खनालले राज्य व्यवस्था परिवर्तनका लागि सङ्घर्ष गर्ने क्रममा शहादत प्राप्त गरेका आफ्ना अभिभावकहरूको योगदानलाई दीर्घकालीन रूपमा स्मरण गर्न स्थानीय सरकारले शहीदको शालिक निर्माण गर्नुपर्ने माग गर्नुभयो।
उहाँले शहीद परिवारका सदस्यलाई अध्ययनका लागि राज्यले कोटा व्यवस्था गरे पनि अध्ययनपछि रोजगारीका लागि त्यस्तो व्यवस्था नहुँदा समस्या भोग्नुपरेको गुनासो गर्नुभयो। आफू पनि शहीद परिवारका लागि छुट्याइएको कोटाबाट अध्ययन गरी हाल चितवनमा अध्यापन गरिरहेको उहाँले बताउनुभयो।
कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले आफू निर्वाचित भएर आएपछि बसेको पहिलो कार्यपालिका बैठकबाटै विभिन्न आन्दोलनका शहीद तथा बेपत्ता परिवारलाई सम्मानस्वरूप मासिक दुई हजार रुपैयाँ नियमित सहिद परिवारलाई मासिक भत्ता स्वरूप उपलब्ध गराउँदै आइएको उल्लेख गर्नु भयो ।
नगर प्रमुख श्रेष्ठले बर्दघाट नगर क्षेत्रका शहीदहरूको तस्वीर तथा आवश्यक विवरण उपलब्ध गराएमा बर्दघाट–१० स्थित आम्बास क्षेत्रमा नगरपालिकाले प्रवद्र्धन गरेको शहीद पार्कमा शालिक निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“शहीदहरूको योगदानलाई पुस्तान्तरण गर्न र उहाँहरूको सम्झनालाई जीवन्त राख्न स्थानीय तहले आफ्नोतर्फबाट सक्दो काम गर्नेछ,” उहाँले भन्नुभयो।
नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले शहीद तथा बेपत्ता परिवारको सम्मान र सहयोगका लागि नगरपालिकाले सानो भए पनि सुरुवात गरेको बताउनुभयो। उहाँले शहीद तथा बेपत्ता परिवारको अवस्था, उनीहरूले भोग्दै आएका समस्या र अपेक्षालाई सार्वजनिक बहसमा ल्याउन सञ्चारकर्मीहरूलाई विशेष आग्रह गर्नुभएको थियो।







प्रतिक्रिया राख्नुहोस्