तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा–दुबई उडान दिगो बनाउन प्रदेश सरकार र निजी क्षेत्र एकजुट

पोखरा । पर्यटनको राजधानी पोखराबाट सुरु हुन लागेको अन्तर्राष्ट्रिय हवाई सेवालाई नियमित र दीर्घकालीन बनाउन गण्डकी प्रदेश सरकार, निजी क्षेत्र तथा पर्यटन व्यवसायी एकजुट भएका छन् । पोखरा–दुबई उडानलाई कम्तीमा ६ महिना निरन्तर सञ्चालन हुने वातावरण बनाउन प्रदेशका सबै जिल्ला तथा अन्तर प्रदेशमा संयुक्त रूपमा प्रवद्र्धन गर्ने सहमति र प्रतिबद्धता जनाइएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (शुक्रबार) आफ्नै कार्यालयमा प्रदेशका जनप्रतिनिधि, पर्यटन व्यवसायी, उद्योगी तथा निजी क्षेत्रका प्रतिनिधिलाई बोलाएर पोखरा–दुबई अन्तर्राष्ट्रिय उडानको प्रभावकारिता र दिगोपनाका विषयमा छलफल गर्नुभएको हो । छलफलमा मुख्यमन्त्री पाण्डेले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु आफैँमा महत्वपूर्ण उपलब्धि भए पनि त्यसलाई नियमित बनाउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले कम्तीमा प्रारम्भिक ६ महिनासम्म उडान नियमित हुने गरी यात्रु माग सिर्जना गर्न र सेवा प्रवद्र्धन गर्न प्रदेश सरकार तथा निजी क्षेत्रले संयुक्त रूपमा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले पोखरा–दुबई उडानलाई दिगो बनाउन आवश्यक समन्वय तथा प्रवद्र्धनका लागि एउटा समिति गठन गर्ने तयारीसमेत रहेको जानकारी दिनुभयो । नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्न सके यसको सकारात्मक श्रेय नेतृत्वमा रहेका सबै पक्षलाई जाने भएकाले अहिले नै सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने उहाँको भनाइ थियो । 

होटलदेखि रेस्टुरेन्टसम्म छुट र विशेष प्याकेज

पोखरा–दुबई उडान सुरु भएसँगै पोखराका होटल, रेस्टुरेन्ट तथा पर्यटन व्यवसायीले यात्रु तथा पर्यटक आकर्षित गर्न विभिन्न छुट, उपहार तथा विशेष पर्यटन प्याकेज घोषणा गरेका छन्। पोखरा पर्यटन परिषद्का अध्यक्ष हरिबहादुर भुजेलका अनुसार दुबईबाट पोखरा आउने पर्यटकलाई लक्षित गरी होटल आवास, खानपिन, साहसिक पर्यटन तथा अन्य पर्यटकीय गतिविधिमा विशेष छुटसहितका प्याकेज ल्याउने तयारी गरिएको छ । पर्यटकलाई आकर्षित गर्न विभिन्न होटल तथा पर्यटन व्यवसायबाट गिफ्ट ह्याम्परसहितका कार्यक्रमसमेत अघि सारिएको उहाँले बताउनुभयो । 

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार सङ्घअन्तर्गतका केही होटेलले पोखरा–दुबई उडानबाट यात्रा गर्ने यात्रु तथा पर्यटकलाई हाल कायम रहेको मूल्यमा २५ प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन्। प्रारम्भिक रूपमा यस्तो छुट तीन महिनाका लागि लागू गरिने उहाँले जानकारी दिनुभयो। त्यसैगरी, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले पनि उडानबाट आउने पर्यटक तथा यात्रुलाई लक्षित गर्दै खानामा २० प्रतिशत छुट दिने भएको छ । रेवान पोखराका अध्यक्ष वसन्त गौतमले उडान प्रवद्र्धनमा निजी क्षेत्रले आफ्नोतर्फबाट सहयोग गर्न यस्तो योजना ल्याइएको बताउनुभयो । 

केही होटेलले निःशुल्क आवास दिने

पोखरा–दुबई उडानको प्रवद्र्धनमा पर्यटन व्यवसायीले थप आकर्षक योजना अघि सारेका छन्। प्रदेश सांसद तथा होटल गुडविलका सञ्चालक गणेशबहादुर गुरुङ, पोखरा पर्यटन परिषद्का अध्यक्ष हरिबहादुर भुजेल तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सङ्गीता पौडेलले समेत आफ्ना होटल तथा रिसोर्टबाट निश्चित सङ्ख्यामा निःशुल्क कोठा उपलब्ध गराउने घोषणा गर्नुभएको हो । यस्ता पहलले दुबईबाट पोखरा आउने पर्यटकलाई प्रारम्भिक चरणमै आकर्षित गर्न तथा पोखराको पर्यटन बजारमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने व्यवसायीहरूको विश्वास छ ।

लेखनाथ होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष सूर्यबहादुर लामिछानेले लेखनाथ क्षेत्रका होटल व्यवसायीले पनि पोखरा–दुबई उडानबाट आउने तथा जाने यात्रु र पर्यटकलाई लक्षित गरी होटल आवासमा विशेष छुट दिने बताउनुभयो । 

यसैबिच, पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा–दुबई उडानलाई प्रारम्भिक चरणमा कम्तीमा ६ महिनासम्म निरन्तर सञ्चालन गर्न सके त्यसलाई नियमित उडानका रूपमा स्थापित गर्ने आधार बन्ने बताउनुभयो । उहाँका अनुसार उडान सुरु भएको केही समयमै माग कमजोर भयो भने अन्तर्राष्ट्रिय उडान निरन्तरता पाउन चुनौती हुन सक्छ। त्यसैले पहिलो ६ महिना पोखराका साथै गण्डकी प्रदेशका सबै जिल्ला र छिमेकी प्रदेशबाट समेत यात्रु आकर्षित गर्ने गरी सामूहिक प्रवद्र्धन अभियान सञ्चालन गर्न आवश्यक छ । “सबै क्षेत्रले आ–आफ्नो ठाउँबाट सहयोग गरेर यो उडानलाई कम्तीमा ६ महिना धान्न सक्ने वातावरण बनाउन सक्यौँ भने नियमित अन्तर्राष्ट्रिय उडानका लागि बलियो आधार तयार हुन्छ,” श्रेष्ठले भन्नुभयो। उहाँले पोखरा–दुबई उडानलाई केवल हवाई सेवा नभई पोखराको पर्यटन, व्यापार र समग्र गण्डकी प्रदेशको अन्तर्राष्ट्रिय बजार विस्तारसँग जोडेर हेर्नुपर्ने बताउनुभयो।

प्रदेशदेखि स्थानीय तहसम्म प्रवर्द्धनको तयारी

पोखराबाट दुबईको नियमित उडान सुरु भएपछि यसको लाभ पोखरा मात्रै नभई गण्डकी प्रदेशका सबै जिल्लाले लिन सक्ने गरी प्रवद्र्धन अभियान सञ्चालन गर्ने तयारी गरिएको छ। प्रदेशका विभिन्न पर्यटकीय गन्तव्य, होटल तथा पर्यटन गतिविधिलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै दुबईबाट आउने पर्यटकलाई पोखरा तथा आसपासका क्षेत्रमा बसाइ लम्ब्याउने वातावरण बनाउनुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन्। छलफलमा प्रदेश सांसद प्रकाश बराल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतम, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली, टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यलगायत उद्योग, पर्यटन तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समयपछि पहिलोपटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानका रूपमा पोखरा–दुबई सेवा सुरु हुन लागेकाले यसलाई सफल बनाउने जिम्मेवारी सरकार र निजी क्षेत्र दुवैको रहेको सहभागीहरूको भनाइ थियो। फ्लाई दुबईले सेप्टेम्बर २३ (असोज ७) देखि पोखरा–दुबई दैनिक सिधा उडान सुरु गर्ने तयारी गरेको छ। यसलाई प्रारम्भिक चरणमै यात्रुको पर्याप्त माग सिर्जना गर्दै नियमित र दीर्घकालीन बनाउन प्रदेश सरकार, पर्यटन व्यवसायी, होटल तथा रेस्टुरेन्ट व्यवसायी र निजी क्षेत्रले आफ्ना सेवा तथा प्रवर्द्धनात्मक प्याकेज सार्वजनिक गर्न थालेका हुन्। पोखराबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित बनाउन सुरु भएको यो सामूहिक पहलले उडानको व्यावसायिक सम्भावना बढाउनेसँगै पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग थप प्रत्यक्ष रूपमा जोड्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button