तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा आज बन्ढुनी पर्व मनाइँदै

डडेल्धुरा । डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लामा आज बन्ढुनी पर्व मनाइँदै छ। हरेक वर्ष असोज सङ्क्रान्तिका दिन मनाइने यस पर्वलाई ‘बुढी पोल्ने दिन’का रूपमा समेत लिइन्छ।

राक्षसी पुतनालाई भगवान् श्रीकृष्णले मारेको स्मरणमा यो पर्व मनाउने परम्परा रहेको संस्कृतिका जानकारहरू बताउँछन्। भाद्र सङ्क्रान्तिका दिन ठड्याइएको लिङ्गो अर्थात् ‘बुढी’लाई असोज सङ्क्रान्तिका दिन जलाएर बन्ढुनी पर्व मनाउने गरिन्छ।

संस्कृतिका जानकार कैलाश पाण्डेयका अनुसार भाद्र सङ्क्रान्तिका दिन गाउँका स्थानीयले नजिकैको वनबाट विभिन्न किसिमका साना–साना काँडे काठ अर्थात् झिकडा काटेर एक ठाउँमा थुपार्ने गर्छन्। सोही थुप्रोलाई साँझपख जलाएर बन्ढुनी अर्थात् बुढी पोल्ने पर्व मनाउने चलन छ।

यस पर्वमा गोठाला तथा स्थानीयले भाद्र सङ्क्रान्ति अर्थात् ओल्के पर्वका दिन सल्ला, बाँझलगायतका रूख तथा हाँगाहरू काटेर लिङ्गो ठड्याउने र बाँकी काठ तथा हाँगाहरू एकै ठाउँमा थुपारेर ‘बुढी’ बनाउने गर्छन्। त्यसलाई असोज सङ्क्रान्तिका दिन जलाउने परम्परा छ।

संस्कृतिका जानकार पण्डित रामचन्द्र भट्टका अनुसार कंसकी बहिनी पुतनाले भगवान् श्रीकृष्णलाई मार्न खोज्दा आफैं जलेर मरेकी थिइन्। द्वापर युगमा विषाक्त दूध खुवाएर बालबालिकाको ज्यान लिने गरेकी पुतनालाई कृष्णले दूध चुसेर मारेको र कृष्ण बाँचेको खुसीयालीमा यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ।

पुतना दहनपछि कृष्ण र उनका साथीहरूले उत्सव मनाएको स्मरणमा बन्ढुनी पर्व मनाउने परम्परा बसेको बताइन्छ।

पर्वका अवसरमा साँझ प्रत्येक घरबाट काँस, अम्रिसोलगायत पाँच जातका घाँसले बेरेर राँको बनाइन्छ। सो राँकोसहित स्थानीय ‘बुढी पोल्ने’ स्थानमा पुगेर पुतना दहन गर्ने गर्छन्। बुढी पोलेपछि लुतो फालिने विश्वासमा युवाहरू काँक्रो चपाउँदै पुतनाको प्रतीकमा थुक्ने चलनसमेत रहेको छ।

डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरा क्षेत्र, अमरगढी नगरपालिका–१० राँई क्षेत्र, नवदुर्गा गाउँपालिका–४ तथा गन्यापधुरा गाउँपालिकाको वडाललगायतका क्षेत्रमा परम्परागत रूपमा बन्ढुनी पर्व मनाइँदै आएको छ। ती क्षेत्रमा पर्वका अवसरमा देउडा प्रतियोगितासमेत आयोजना गरिने गरिएको छ।

बन्ढुनी पर्व डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारतको कुमाउँ–गढवाल क्षेत्रमा समेत मनाउने प्रचलन रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button