ग्याँस बोकेको ट्रकको ठक्करबाट दुई जनाको मृत्यु
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
पथलैया–वीरगन्ज सडकखण्डअन्तर्गत सागर आयल पेट्रोल पम्पनजिक दुर्घटना भएको हो । दुर्घटनामा करैयामाई गाउँपालिका–७ का ३० वर्षीय दिलीप चौधरी र वीरगन्ज महानगरपालिका–१५ नगवाका ३५ वर्षीय रवीन्द्र उपाध्यायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीका अनुसार पूर्वतर्फको सर्भिस लेनबाट मुख्य सडकतर्फ निस्किँदै गरेको ना३ख ५६१० नम्बरको ग्याँस बोकेको ट्रकले वीरगन्जतर्फ गइरहेको ना४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करपछि मोटरसाइकलमा रहेका दुवै जना गम्भीर घाइते भएका थिए । तत्काल उद्धार गरी उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल पुर्याइएको थियो। तर, अस्पताल पुर्याए लगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए ।
मोटरसाइकल चौधरी वा उपाध्यायमध्ये कसले चलाएका थिए भन्नेबारे भने प्रहरीले यकिन गर्न सकेको छैन । दुर्घटनापछि प्रहरीले ग्याँस बोकेको ट्रक र त्यसका चालक चितवनको भरतपुर महानगरपालिका निवासी ५८ वर्षीय सुनिलराज पाठकलाई नियन्त्रणमा लिएको छ ।






प्रतिक्रिया राख्नुहोस्