ट्राफिक व्यवस्थापनमा स्काउट ‘स्वयंसेवक’
सुर्खेत । सुर्खेत उपत्यकामा ट्राफिक व्यवस्थापन सहज बनाउन नेपाल स्काउटका स्वयंसेवक परिचालन गरिएको छ ।

जिल्ला सदरमुकाम वीरेन्द्रनगरका बढी भिडभाड हुने स्थानमा यातायातका सवारी साधन सहजरुपमा सञ्चालन गर्ने लक्ष्यसहित स्काउटका स्वयंसेवकलाई परिचालन गरिएको हो ।
हार्भेष्टमुन इङ्लिस मिडियम बोर्डिङ स्कुलमा अध्ययनरत स्काउटमा आबद्ध ३५जना विद्यार्थीसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरीको टोलीले संयुक्तरुपमा ट्राफिक नियम सचेतना तथा ट्राफिक व्यवस्थापन कार्यमा जुटेको पाइएको छ ।
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले वीरेन्द्रनगरका एरीचोक, वीरेन्द्र चोक र मंगलगढी चोकमा चोकमा ट्राफिक नियमको सचेतनासँगै सवारी साधनको संयुक्त चेकिङ तथा ट्राफिक व्यवस्थापन कार्यमा उनीहरू जुटेका छन् ।
स्काउट स्वयंसेवक र ट्राफिक प्रहरीको संयुक्त चेकिङ तथा ट्राफिक व्यवस्थापन एक सकारात्मक र प्रशंसनीय कार्य भएको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष कुमारी भुसालले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रोहितकुमार शाहीले ट्राफिक नियम सचेतना तथा ट्राफिक व्यवस्थापन गर्नुअघि स्काउट स्वयंसेवकहरूलाई सडक सुरक्षा, ट्राफिक सङ्केत र आफ्नो सुरक्षा कसरी गर्ने भन्नेबारे तालिम दिइएको जानकारी दिनुभयो ।
यस्ता कार्यक्रमले ट्राफिक नियम सचेतना तथा ट्राफिक व्यवस्थापन कार्यले चालकहरूलाई लेन अनुशासन, गति सीमा र कागजातको महत्व बुझाउनुका साथै नियम उल्लङ्घन गर्नेलाई जरिवाना मात्र होइन, सुध्रने अवसर समेत दिने गरेको पाइएको छ ।
पैदलयात्री तथा चालकहरूलाई ट्राफिक नियमबारे जानकारी दिने, जथाभाबी सडक काट्ने र नियम मिच्ने प्रवृत्तिलाई रोक्ने, व्यस्त समयमा ट्राफिक प्रहरीलाई सहयोग गरी जाम कम गर्ने, स्काउट भावना अनुरुप समुदायमा सकारात्मक प्रभाव पारेको स्थानीय कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्