जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र

नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि नुवाकोटका दुई जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ ।
माथिल्लो त्रिशूली थ्री ‘ए’ विद्युत् केन्द्र र माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनामा बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको खोजी नेपाली सेनाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले गरिरहेको छ ।
यही भदौ १० गतेको बाढीपछि जलविद्युत् आयोजना केन्द्रित खोज तथा उद्धारमा खटिएको टोलीले थ्री ‘ए’ को सम्भावित स्थानमा खोजीकार्य अन्तिम चरणमा पुर्याएको छ भने थ्री ‘बी’मा निर्माणाधीन विद्युत् उत्पादन गृहको भवन क्षेत्रमा उत्खनन तथा भग्नावशेष हटाउने कार्य जारी राखेको छ ।
जलविद्युत् आयोजनामा भइरहेको खोज तथा उद्धार कार्यको आज जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित सुरक्षा निकायका प्रमुखहरूले स्थलगत अवलोकन गरेका छन् ।
खोज तथा उद्धारमा भइरहेको प्रगति, देखिएका चुनौती र गर्नुपर्ने आवश्यक सहजीकरणका सम्बन्धमा उद्धारमा खटिएका सुरक्षा फौजसँग जानकारी लिएको प्रमुख रेग्मीले जानकारी दिनुभयो ।
जिल्ला सुरक्षा समितिलाई माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाका आयोजना प्रमुख आनन्द ढुङ्गेलले दिनुभएको जानकारीअनुसार बाढीपछि आयोजना र परामर्शदाताको तर्फबाट कार्यरत ४४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।
त्यस्तै, आयोजनाको निर्माणमा संलग्न दुई वटा कम्पनीमा आबद्ध चार जना चिनियाँ नागरिकसहित १४२ जना कर्मचारी तथा कामदार बाढीपछि कार्यक्षेत्रमा फसेको आशङ्कामा खोज तथा उद्धारलाई तीव्र बनाइएको छ ।
आयोजना प्रमुख ढुङ्गेलका अनुसार कर्मचारी तथा कामदार फसेको हुनसक्ने प्रमुख स्थानका रूपमा प्रशासनिक भवन र पाँच वटा आवासीय भवनमा खोजतलास गरिएको थियो । ती संरचना पुरिएको नभई बाढीले बगाएर लगेको पाइएको उहाँले बताउनुभयो ।
“सुरुङ मार्गबाट आवतजावत गर्न सहज रहेकाले त्यहाँ पनि खोजी गरियो । अब कर्मचारी तथा कामदार हुनसक्ने सम्भावित स्थानमध्ये विद्युत् उत्पादन गृहका लागि निर्माणाधीन भवन मात्र बाँकी रहेको छ”, आयोजना प्रमुख ढुङ्गेलले भन्नुभयो, “अहिले त्यही हेभी उपकरण प्रयोग गरेर खोज तथा उद्धारलाई तीव्र बनाइएको छ ।”
खोज तथा उद्धारको लागी उत्खनन भइरहेको निर्माणाधीन भवनको अग्रभागका पाँच वटा पिल्लर देखिए पनि अन्य संरचना बाढीले बगाएर उक्त स्थान बगरमा परिणत भएको पाइएको छ । अहिले सोही क्षेत्रमा भग्नावशेष हटाउँदै खोजी भइरहेको छ ।
बाढीपछिको असहज परिस्थितिका बाबजुद नेपाली सेनाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । अहिले त्रिशूली थ्री ‘बी’मा नेपाली सेनाका सेनानी केशव थापाको नेतृत्वमा ८६ जना र सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक प्रेमसिंह धामीको नेतृत्वमा १० जनाको टोली खटिएको छ ।
विदेशी उद्धार विज्ञसहितको टोलीबाट सुरु गरिएको खोज तथा उद्धार कार्य अहिले जलविद्युत् आयोजनाका विज्ञसहित नेपाली टोलीले अघि बढाइरहेको छ ।
नेपाली सेनाका सेनानी थापाका अनुसार हराइरहेका कर्मचारी तथा कामदार फसेको हुनसक्ने सम्भावित स्थानमा खोजी गर्दै अहिले विद्युत् उत्पादन गृहका लागि निर्माणाधीन भवन क्षेत्र अन्तिम बिन्दुका रूपमा खोज उद्धार भइरहेको छ ।
“सम्भावित स्थानबाट खोज तथा उद्धार गर्दै आएका छौँ । अहिले विद्युत् उत्पादन गृहका लागि निर्माणाधीन भवन क्षेत्रमा खोजी केन्द्रित गरेका छौँ । आवश्यक उपकरण तथा स्रोतसाधन परिचालन गरी काम भइरहेको छ”, सेनानी थापाले जानकारी दिनुभयो ।
खोज तथा उद्धारमा खटिएको संयुक्त सुरक्षा फौजले नेपाल विद्युत् प्राधिकरण तथा जलविद्युत् क्षेत्रका विज्ञहरूसँग परामर्श गरी आवश्यक यन्त्र–उपकरणसहित स्रोतसाधन परिचालन गरेको छ ।
त्रिशूली थ्री ‘बी’को खोज तथा उद्धारमा यसअघि चीन, अष्ट्रेलिया, क्यानडा र दुबईबाट आएका सुरक्षाकर्मी र उद्धारकर्मीसमेत परिचालन गरिएको थियो ।
बाढीपछि आयोजना क्षेत्र दलदले लेदोसहितको बगरमा परिणत भएकाले जोखिमपूर्ण अवस्थामा खोज तथा उद्धार गर्नुपरेको छ । संयुक्त सुरक्षा फौजले भग्नावशेष हटाउँदै खोजी गरे पनि हालसम्म थप केही पत्ता लाग्न नसकेको बहादुर श्री शेरगण नुवाकोटका गणपति, प्रमुख सेनानी आविष्कार ढुङ्गानाले जानकारी दिनुभयो ।
“बाढीका कारण आयोजना क्षेत्र अत्यन्त जोखिमपूर्ण बनेको छ । भग्नावशेष हटाउँदै सम्भावित स्थानमा खोजी भइरहेको छ । हालसम्म थप केही पत्ता लाग्न सकेको छैन”, प्रमुख सेनानी ढुङ्गानाले बताउनुभयो ।
बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् केन्द्रबाट बाढी आएको १० दिनपश्चात् दुई जनालाई सकुशल उद्धार गरिएको थियो । सोही क्रममा पहिचान नखुलेको एउटा शवसमेत भेटिएको थियो ।
थ्री ‘ए’को विद्युत् उत्पादन गृहसहितको सुरुङ क्षेत्रमा नेपाली सेनाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले सम्पूर्ण क्षेत्रमा यसअघि नै खोज तथा उद्धार कार्य गरेको थियो । त्यस क्रममा थप केही फेला नपरे पनि बाढीले क्षतिग्रस्त बनाएका स्थानमा भग्नावशेष हटाउँदै खोज तथा उद्धार कार्य अहिले पनि जारी रहेको छ ।
बाढीबाट प्रभावित दुवै जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित सम्बन्धित प्राविधिक विज्ञहरूको टोलीले सम्भावित स्थानमा खोज तथा उद्धारलाई निरन्तरता दिइरहेको छ । रासस








प्रतिक्रिया राख्नुहोस्