तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीको पुर्चौडीमा पहिरोले एक घरमा पूर्ण क्षति, १० घर जोखिममा

बैतडी। बैतडीको पुर्चौडी नगरपालिका–८ लामुनी गाउँमा पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। सोमबार राति करिब ९ बजे घरमाथिबाट खसेको पहिरोले गैरगाउँका गणेशदत्त जोशीको घर पुरेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सेनाका अनुसार पहिरो खस्न थालेपछि परिवारले समयमै घर छाडेकाले मानवीय क्षति हुन पाएन। घर पूर्णरूपमा क्षतिग्रस्त भएपछि जोशीको परिवार आफन्तको घरमा आश्रय लिएर बसेको छ।

पहिरोले गोठमा पुरिएका १० वटा बाख्रालाई प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा जीवितै उद्धार गरिएको छ।

पहिरोका कारण गाउँ नै उच्च जोखिममा परेको प्रहरीले जनाएको छ। स्थानीय रघुनाथ जोशी, बलदेव जोशी, दत्तराम जोशी, परमानन्द जोशी, चन्द्रदेव जोशी, हिराप्रसाद जोशी, पदमराज जोशी, काशी भण्डारी, दत्तराज जोशी र अम्बादत्त जोशीका घर पहिरोको उच्च जोखिममा रहेका छन्। प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button