कमल रिजालको २१औँ कृति ‘दर्शनागार’ सार्वजनिक

काठमाडौँ । आध्यात्मिक लेखक आचार्य कमल रिजालको २१औँ कृति ‘दर्शनागार’ (दर्शनको वैश्विक रूपरेखा) सार्वजनिक गरिएको छ ।
शिखा बुक्सले प्रकाशन गरेको पुस्तकमा दर्शनसम्बन्धी प्रामाणिक विषय समेटिएको छ । ३२० पृष्ठको पुस्तकमा पौरस्त्यदर्शन, पाश्चात्य दर्शन, इस्लामिकदर्शन, अन्तर संयोजन दर्शनप्रकरण, प्रयोगात्मक प्रश्नवादी दर्शनप्रकरण जस्ता विषय र ती विषयसँग सम्बन्धित सामग्री समेटिएका छन् ।
राजधानीमा आज आयोजित पुस्तक सार्वजनिकीकरण कार्यक्रममा लेखक रिजालले १० वर्षको चिन्तनबाट पुस्तक तयार पारिएको जानकारी दिनुभयो । पूर्वाद्र्धका तीन खण्ड सम्बन्धित दर्शनकै ग्रन्थबाट उद्धृत गरिएको बताउँदै उहाँले अन्तर संयोजन र प्रयोगात्मक प्रश्नवादी दर्शन तीन वटै दर्शनको समन्वयवादी दर्शनका रूपमा आफूले समीक्षा गरेर लेखेको सुनाउनुभयो ।
साहित्यकार डा नवराज लम्सालले पौरस्त्यदर्शन निर्माणको जग वेद भएको उल्लेख गर्दै आफ्नै कर्ममाथि प्रश्न गरेर हेर भनी लेखकले पुस्तकमा सन्देश दिन खोज्नुभएको बताउनुभयो । अध्यात्म र भौतिकवादी दर्शनको तुलनात्मक अध्ययन पुस्तकमा गरिएको उहाँले सुनाउनुभयो । दुवैको समन्वय गरिएकाले यसलाई समन्वयवादी दर्शनको पुस्तकमा रूपमा पनि अध्ययन गर्न सकिने साहित्यकार लम्सालको विचार थियो ।
पुस्तकमाथि समीक्षा गर्दै प्रा डा भागवत ढकालले पौरस्त्य दर्शनको सुरुवात नै जिज्ञासाबाट भएको बताउनुभयो । पूर्वको आध्यात्मिकता, पश्चिमको वैज्ञानिकता र नेपालको बहु सांस्कृतिकतालाई संयोजन गरेर नयाँ दर्शन बन्न सक्ने विचार पनि उहाँले राख्नुभयो । पौरस्त्य र पाश्चात्य दर्शनको तुलनात्मक अध्ययन गर्न पनि दर्शनागार कृति महत्वपूर्ण भएको ढकालले बताउनुभयो ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले दर्शन विधामा फरक तरिकाले लेखिएको पुस्तकका रूपमा दर्शनागार सार्वजनिक भएको बताउनुभयो । रिजालको यसअघि प्रकाशन भएको शकुन्तला उपन्यास पनि फरक धारबाटै नेपाली साहित्यमा स्थापित भएको जानकारी पनि उहाँले दिनुभयो । रिजालले अध्यात्म, धर्म र दर्शनका विषयमा धेरै लेख्नुभए पनि मूल्याङ्कन कम भएको साहित्यकार श्रेष्ठको भनाइ थियो ।
समीक्षक शैलेन्द्र अधिकारीले दर्शनागार पुस्तकले दर्शनप्रति आम मानिसमा जिज्ञासा बढाउने बताउनुभयो । जसबाट दर्शनका विषयमा जान्न र बुझ्न सहज हुने उहाँको भनाइ थियो । पुस्तकको अन्त्यमा सन्दर्भ ग्रन्थ सूची दिइए पनि पाद टिप्पणी अनुच्छेद टिप्पणी नराखिँदा नयाँ प्रयोगमा पुस्तक लेखिएको हो कि जस्ता लाग्ने भनाइ पनि समीक्षक अधिकारीको थियो ।
शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले लेखक रिजालका धर्म, दर्शन र अध्यात्मसम्बन्धी पुस्तक प्रकाशनलाई विगतदेखि नै निरन्तरता दिँदै आएको र आगामी दिनमा यस्ता कृति पढ्न पाइने विश्वास व्यक्त गर्नुभयो । पुस्तकको मूल्य रु ७९५ तोकिएको छ ।








प्रतिक्रिया राख्नुहोस्