युक्रेनी राष्ट्रपति जेलेन्स्की मियामीमा हुने जी–२० मा पुटिनसँग भेट्न तयार
बर्लिन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार सार्वजनिक भएको एक मिडिया अन्तर्वार्तामा युद्ध अन्त्यका लागि वार्ता गर्न मियामीमा हुने जी–२० शिखर सम्मेलनमा रुसी नेता भ्लादिमिर पुटिनसँग भेट्न तयार रहेको बताउनुभएको छ।
क्रेमलिनले डिसेम्बरमा हुने विश्व नेताहरूको यो भेलामा पुटिन सहभागी हुने कि नहुने भन्ने निर्णय अझै नगरेको जनाएको छ र जेलेन्स्कीलाई वार्ताका लागि रुस आउन पुटिनको माग दोहोर्याएको छ ।
वासिङ्टनले दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा घातक यो द्वन्द्वको समाधान खोज्न लामो समयदेखि अवरूद्ध वार्तालाई पुनः सुरु गर्न खोजिरहेको छ । अमेरिकी वार्ताकारहरूले वार्ता पहलका लागि हालै किएभ र मस्कोको भ्रमण गरेका थिए भने राष्ट्रपति डोनाल्ड ट्रम्प र पुटिनले यस साता फोनमा द्वन्द्वबारे कुराकानी गरेका थिए ।
संयुक्त राज्य अमेरिकाले यस वर्ष प्रमुख अर्थतन्त्रहरूको समूह ९ जी–२००को अध्यक्षता गरेको छ, जसमा १९ देशहरू, युरोपेली सङ्घ र अफ्रिकी सङ्घ समावेश छन् । डिसेम्बर १४–१५ मा नेताहरूको शिखर सम्मेलनपछि अमेरिकाले नेतृत्व हस्तान्तरण गर्नेछ ।
यस पहिले नै जी–२० बैठकमा सहभागी भइसकेका रुसका अर्थमन्त्रीका लागि युक्रेनका केही युरोपेली सहयोगीहरूका कारण असहजता पैदा गरेको बताइएको छ । अर्को साता ऊर्जा मन्त्रीहरूको भेलामा रुसी प्रतिनिधिमण्डल सहभागी हुने तय छ।
यदि दुवै नेतालाई निमन्त्रणा दिइयो भने डिसेम्बरको शिखर सम्मेलनमा पुटिनसँग भेट्न तयार हुनुहुन्छ कि भन्ने प्रश्नमा जेलेन्स्कीले जर्मन प्रसारक डोयचे भेलेसँग भन्नुभयो, “हो, अवश्य।”
उहाँले भन्नुभयो, “हामी आउनुपर्छ। हामी भेट्नुपर्छ, कुरा गर्नुपर्छ र निर्णय गर्नुपर्छ। यो शब्दको कुरा होइन। मैले उहाँलाई के भन्नेछु वा उहाँले मलाई के भन्न चाहनुहुन्छ, त्यसको कुनै मतलब छैन।” उहाँले थप्नुभयो, “महत्त्वपूर्ण कुरा ‘परिणाम’ मात्र हो।
रुसको तास न्यूज एजेन्सीले क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै भनेको छ, “हामीलाई अझै थाहा छैन । हामी मियामी जानेछौँ वा छैनौँ।”
पेस्कोभले यस पहिले नेता पुटिनको भनाइ दोहर्याउनुभयो र भन्नुभयो, “जेलेन्स्कीले कुनै पनि वार्ताका लागि सन् २०२२ मा युक्रेनमा पूर्ण स्तरको आक्रमण सुरु गरेर युद्ध सुरु गरेको देश रुस आउनुपर्छ । “यदि उहाँ साँच्चै पुटिनसँग भेट्न चाहनुहुन्छ भने, पुटिनले पहिले नै भनिसक्नुभएको छ कि उहाँ मस्को आउन सक्नुहुन्छ।”
गत सप्ताहन्तमा अमेरिकी वार्ताकार स्टिभ विटकोफ र जारेड कुश्नरले मस्को भ्रमण गर्नुभएको थियो । पुटिन तथा ट्रम्पले पनि यस साता युद्धबारे कुराकानी गर्नुभएको थियो । वार्तालाई क्रेमलिनले ‘अत्यन्त स्पष्ट’ र रचनात्मक एक घण्टा लामो टेलिफोन संवाद भनेको थियो ।
क्यानडामा शुक्रबार भएको डोयचे भेलेसँगको अन्तर्वार्तामा जेलेन्स्कीले विटकोफ र कुश्नरको भ्रमण ‘राम्रो सङ्केत’ भएको बताउनुभयो । उहाँहरूले मस्कोसँगै किएभको पनि भ्रमण गर्नुभएको स्मरण गर्दै नेता जेलेन्स्कीले संवाद महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
“यो हाम्रा जनताप्रति सम्मान हो,” उहाँले भन्नुभयो ।
जेलेन्स्कीले सेप्टेम्बरको अन्त्यतिर ट्रम्पसँग भेट्ने योजना पनि घोषणा गर्नुभएको छ । वासिङ्टनले मस्को र किएभबीच नयाँ प्रत्यक्ष वार्ताका लागि दबाब दिइरहेको छ ।
वार्ताका उचित वातावरण
सम्भावित वार्ताअघि युक्रेनको अडानबारे सोधिएको प्रश्नमा जेलेन्स्कीले भन्नुभयो, “युक्रेन अहिले युद्ध मैदानमा गत वर्षभन्दा धेरै बलियो छ । त्यसैले हामीलाई लाग्छ कि हामीसँग अहिले वार्ताका लागि राम्रो स्थिति छ।”
वार्ता यस महिना नै हुन सक्ने किएभले बताएको छ तर क्रेमलिनले सोमबार ‘स्थान वा मितिबारे छलफल गर्न अझै चाँडो’ हुने बताएको थियो ।
अघिल्ला धेरै वार्ताका चरणहरू असफल भएका छन् । दुवै पक्षबीच विश्वास कम छ र मस्को वा किएभले आफ्ना अडान परिवर्तन गरेको कुनै सङ्केत छैन ।
मस्को र किएभ दुवैले हालैका महिनाहरूमा एक अर्कामाथि लामो दूरीका आक्रमण बढाएका छन्, जसले युद्धको सुरुवाती दिनपछिको सबैभन्दा उच्च नागरिक मृत्युदर निम्त्याएको छ ।
शुक्रबार रातभरिका रुसी आक्रमणमा युक्रेनमा चार जना मारिएका छन्, जसमा दक्षिणी जापोरिज्झियामा दुई जना र मध्य क्रिभी रिहको अर्सेलरमित्तल कारखानामा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारी र स्टिल निर्माताले शनिबार बताएका छन् ।
“दक्षिणी बन्दरगाह सहर ओडेसामा रुसी मिसाइल र ड्रोन आक्रमणले आवासीय भवनहरूमा क्षति पुर्यायो, जसले पूरा तल्लाहरू नष्ट गरे र ३५ जना घाइते भए,” क्षेत्रीय गभर्नरले बताउनुभयो ।
अन्तर्वार्तामा जेलेन्स्कीले युक्रेनका सहयोगीहरूलाई रुसी हवाई आक्रमण रोक्न थप मिसाइल उपलब्ध गराउन आफ्नो आह्वान दोहोर्याउनुभयो ।
युक्रेनलाई अमेरिकी बनावटका ‘प्याट्रियट एयर डिफेन्स प्रणाली’का लागि थप ‘इन्टरसेप्टर’ मिसाइलहरू तत्काल आवश्यक छ, तर वासिङ्टनले इरानसँगको युद्धमा ठूलो सङ्ख्यामा प्रयोग गरेपछि अमेरिकी आपूर्ति घटेको छ।
वासिङ्टनले पर्याप्त मिसाइल उपलब्ध गराउने कि नगराउने स्पष्ट नभएको जेलेन्स्कीले बताउनुभयो । “उनीहरूसँग ‘बेच्ने र सहयोग गर्ने राजनीतिक इच्छाशक्ति छ, तर उत्पादन त्यति धेरै छैन,” उहाँले भन्नुभयो ।
उहाँले युरोपेली सहयोगीहरूबाट थप सहयोगको पनि आग्रह गर्नुभयो र भन्नुभयो, “हामीलाई साँच्चै समर्थन गर्ने सबै युरोपेलीहरूसँग हामीलाई चाहिने कुरा छ।” रासस÷एएफपी








प्रतिक्रिया राख्नुहोस्