तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा दुई छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु 

सल्यान । सल्यानमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । 

त्रिवेणी गाउँपालिका– ५ सिम्कमा बोलेरो दुर्घटनामा तीन र सोही गाउँपालिका– ३ टाट्केमा भएको मोटरसाइकल दुर्घटनामा एक गरी चार जनाको मृत्यु भएको हो । 

त्रिवेणी गाउँपालिका–५ सिम्कबाट दाङ तुलसीपुर जाँदै गरेको लु.प्र.०२००१ ज ०००५ नम्बरको बोलेरो सिम्कमा दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र वडा न ५ सल्लेकी १८ वर्षीया बिपना बुढाथोकी र वडा न ५ सिम्कका ५० वर्षीय डिल्ली बहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

रेशम र बिपनाको सल्यान जिल्ला अस्पताल र वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो । 

जिप दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । 

दुर्घटनामा परी सल्यान त्रिवेणी गाउँपालिका–५ सिम्कका २४ वर्षीय गाडी चालक भुपाल पुन, २९ वर्षीय पारस बोहरा र ४२ वर्षीया लालमित बुढाथोकी घाइते भएका छन् । उनीहरूको सञ्जीवनी अस्पताल घोराहीमा उपचार भइरहेको छ । 

यस्तै सल्यान त्रिवेणी गाउँपालिका–३ टाट्केमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शनिबार त्रिवेणी गाउँपालिका–३ स्थित भित्री कच्ची सडकखण्डमा रा ४ प २४३ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

मोटरसाइकलको पछाडि सवार दाङको शान्तिनगर गाउँपालिका–१ पेदीखोला निवासी अन्दाजी ३५ वर्षीया जिता केसीले लगाएको सलवार सुटको दुपट्टा मोटरसाइकलको पछाडिको चक्कामा बेरिएपछि उनी मोटरसाइकलबाट पल्टिएकी थिइन ।  त्यसक्रममा लतारिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button