लोपोन्मुख बन्दै आरन पेशा, परम्परागत व्यवसायबाट जीविकोपार्जन कठिन
बाजुरा। बाजुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रूपमा सञ्चालन हुँदै आएको आरन पेशाबाट जीविकोपार्जन गर्न कठिन हुन थालेपछि यो पेशा नै लोप हुने अवस्थामा पुगेको छ ।
लामो समयदेखि फलामका औजार निर्माण गर्दै आएका आरन व्यवसायीले यस पेशाबाट दैनिक गुजारा चलाउनसमेत मुस्किल हुन थालेको बताएका छन् ।
विशेषगरी ल्वार र मिजार समुदायले अंगाल्दै आएको यो पेशा विगतमा गाउँ–गाउँमा फस्टाएको थियो । एक समय एउटै गाउँमा करिब १० जनासम्म आरन व्यवसायी सक्रिय हुने गरे पनि अहिले एक–दुई जना भेटाउनसमेत मुस्किल भएको स्थानीयको भनाइ छ ।
परम्परागत रूपमा फलामका विभिन्न औजार बनाएबापत अन्न लिने ‘बालिघरे’ प्रथा अझै कायम रहे पनि यसबाट परिवार पाल्न र छोराछोरीको शिक्षादीक्षा सञ्चालन गर्न नसकिने अवस्था आएको व्यवसायीको गुनासो छ ।
बडिमालिका नगरपालिका–६ का आरन व्यवसायी गोरे मिजारका अनुसार यही पेशाबाट गुजारा चलाउन नसक्दा धेरै व्यवसायी भारतलगायतका देशमा रोजगारीका लागि पलायन भएका छन् ।
यता, बजारमा बनिबनाउ तथा आधुनिक औजार सहजै उपलब्ध हुन थालेपछि परम्परागत आरन व्यवसाय थप संकटमा परेको छ । आधुनिक औजारसँग प्रतिस्पर्धा गर्न नसक्दा पुस्तौँदेखि चलिआएको पुरानो सीपसमेत ओझेलमा पर्दै गएको छ ।
आरन पेशाको संरक्षण र प्रवर्द्धनका लागि राज्यबाट कुनै ठोस प्रोत्साहन कार्यक्रम नआएको व्यवसायीको गुनासो छ । आवश्यक सहयोग, सीप विकास र प्रविधिको अभावमा पुस्तौँदेखि चलिआएको यो पेशा संकटमा पर्दै जाँदा स्थानीय संस्कृति र परम्परागत सीपसमेत हराउने चिन्ता बढेको छ ।








प्रतिक्रिया राख्नुहोस्