तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा छुट्टाछुट्टै सडक दुर्घटना, रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुईको मृत्यु

सुनसरी । सुनसरीमा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ।

दुहबी नगरपालिका–११ स्थित सिमरबना पुलको भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा गढी गाउँपालिका–२ का ५५ वर्षीय प्रकाशलाल थान्दारको मृत्यु भएको हो।

प्रहरीका अनुसार शुक्रबारेबाट नहरतर्फ जाँदै गरेको बा ७५ प ३११० नम्बरको मोटरसाइकल मंगलबार साँझ करिब ७ः१० बजे अनियन्त्रित भई पुलबाट करिब १५ मिटर तल खसेको थियो।

गम्भीर घाइते थान्दारलाई उपचारका लागि विराट शिक्षण अस्पताल, बूढीगंगा लगिएकोमा अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।

थान्दार रेडियो नेपाल, तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्रामका प्राविधिक अधिकृत हुनुहुन्थ्यो। उहाँको साथबाट परिचयपत्रसमेत फेला परेको प्रहरीले जनाएको छ।

त्यस्तै, कोशी राजमार्गअन्तर्गत धरान उपमहानगरपालिका–८ स्थित गुराँस चोकमा मोटरसाइकलले रोकिराखिएको सिटी सफारीलाई पछाडिबाट ठक्कर दिँदा इटहरी–५ का ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरेको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ८ प ३३३३ नम्बरको मोटरसाइकलले प्रदेश १–०२–००४ ह ३५०४ नम्बरको सिटी सफारीलाई मंगलबार दिउँसो करिब २ः४५ बजे ठक्कर दिएको थियो।

गम्भीर घाइते घिमिरेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा राति करिब ९ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले सिटी सफारी र चालक धरान–५ का ३८ वर्षीय रचन मगरलाई नियन्त्रणमा लिएको छ। दुवै दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button