तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोसीमा हराएकाहरूको खोजी: डिएनए सङ्कलनदेखि कुशको शव बनाएर काजक्रियासम्म

काठमाडौँ। भोटेकोसी नदीमा आएको भीषण बाढीले सर्वस्व गुमाएका र आफ्ना मान्छे गुमाएका पीडितहरू १३औँ दिन बितिसक्दा पनि राजधानीका विभिन्न अस्पतालहरूमा आश र निराशाको दोसाँधमा भौँतारिरहेका छन्। कतिपय आफन्त अझै आफ्ना मान्छे जीवितै भेटिने आसमा अस्पताल धाइरहेका छन् भने कतिपयले शव पहिचानका लागि डिएनए (DNA) नमूना दिइरहेका छन्। लामो समयसम्म खबर नआएपछि धेरैले कुशको शव बनाएर अन्तिम संस्कार (काजक्रिया) समेत सुरु गरिसकेका छन्।

राजधानीका अस्पताल पुग्दा बाढीमा घाइते भएकाहरूका परिवार तथा आफन्तहरू गहिरो चिन्ता र पीडामा भेटिन्थे।

कोही घाइतेहरू कुरिरहेका थिए त कोही भने हराइरहेका आफन्तहरूको केही खबर पाइहालिन्छ की भनेर अस्पतालका भित्तामा टाँसिएका फोटाहरू हेर्दै यताउता भौँतारिरहेका थिए । कोही भने घाइते भएर पनि आफन्त कोही नभएर अस्पतालमा एक्लै उपचार गराइएका पनि भेटिए । बाढीमा परी घाइते भएको अवस्थामा हेलिकप्टरमार्फत उद्धार गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइएका रसुवाका घाइते सिद्धार्थ तामाङले परिवारका सदस्यहरु पनि बाढीमै परेको र आफन्त कोही नभएकाले अस्पतालमा एक्लै बसेर उपचार गराइरहेको हामीलाई सुनाउनुभयो ।

उहाँले “घरमै गफ गरेर बसिरहेका बेला एक्कासी आएर बस्तीमा बाढी पसेको र भाग्दा भाग्दै बाढीले भेटेपनि आफु भने बाँच्न सफल भएको तर त्यसपछिको अवस्थावारे आफूलाई केही थाहा नभएको बताउनुभयो ।”

यस्तै सिन्धुपाल्चोककी सरिता श्रेष्ठ पनि बाढीमा परी घाइते हुनुभएका आफ्नो श्रीमानलाई कुरेर बेडको छेउमा बसिरहनुभएको देखेपछि हामीले केही कुरा गर्न आग्रह गर्‍यौँ । कतिपय आफन्तहरू त बोल्न पनि सक्ने अवस्थामा थिएनन् भने बोल्न मानिरहेका पनि थिएनन् । सरिताले भने हाम्रो आग्रहलाई स्विकार्दै केही बोल्न सहमत हुनुभयो ।

उहाँले आफ्नो श्रीमान् चीनबाट नेपाल सामान ल्याउने गाडी चलाउने गरेको र भदौ १० गते बिहान रसुवाको टिमुरेमा रहेको अवस्थामा बाढी आएको देखेपछि भाग्दाभाग्दै बाढीमा परेको र पछि कसैले देखेर उद्धारका लागि पहल गरिदिएपछि नेपाली सेनाको हेलीमार्फत टिचिङ अस्पताल ल्याइएको बताउनुभयो ।

“अस्पताल आइपुग्दा उहाँ चिन्न सकिने अवस्थामा हुनुहुन्थेन, शरीरमा एउटा पनि लुगा थिएन टाउको, अनुहार र शरीर भरि चोट नै चोट थियो । धेरै दिन आइसियुमा राखेर एकदिन अघि मात्रै बाहिर बेडमा सारिएको र अहिले अवस्थामा सुधार आएको उहाँले हामीलाई सुनाउनुभयो ।”

अस्पतालमा कोही घाइतेहरूका आफन्तहरू घाइतेलाई अप्रेशन थिएटरमा लगिएको भन्दै सफल अप्रेसनका लागि प्रार्थना गरेर बसिरहेका थिए भने कोही घाइतेसँगै छेउमा बसेर टोलाइरहेका थिए । त कोही भने अस्पतालको बाहिर भित्तामा टाँसिएका आफन्तका तस्वीर हेरिरहेका थिए ।

त्यही बेला हामीसँग भेटिनुभयो टिमुरेमा रहेको प्रभु बैङ्कमा सेक्युरिटी गार्डका रुपमा काम गर्दै आउनुभएका र बाढीमा परी हराउनुभएका नेत्र बहादुर रोकायाकी दिदी रुप्सरा बुढा । उहाँले आफ्नो भाइ टिमुरेमा काम गर्दै आएको र बाढीपछि कतै सम्पर्कमा नआएकाले सबैतिर खोजी गरिरहेको बताउनुभयो । 

“आफ्नो एउटा मात्रै भाइ र भाइका साना साना बच्चा भएको सम्झिँदै बाढी आएको यतिका दिनसम्म सम्पर्कमा नआउँदा कता खोज्ने के गर्ने भन्ने नै अन्योल भएका पिडा उहाँले सुनाउनुभयो ।”

यस्तै खोटाङका हर्कबहादुर राई पनि नेपाली सेनामा रहेका आफन्त बाढीमा परी सम्पर्कमा नभएकाले खोजी गर्दै हिँडिरहेको भेटिनुभयो । 

“उहाँले पनि आफन्त हराइरहेको र कतै पनि नभेटिएकाले खोजी गरिरहेको र खाजी कार्यलाई सरकारले पनि थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।”

रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेहरूमा हालसम्म एक हजार तीन सय ५० भन्दा धेरै शव फेला परिसकेको तथ्याङ्क छ भने पाँच हजारको हाराहारीमा मानिसहरू सम्पर्कविहीन छन् ।

त्यसो त सरकारले यसबिचमा धेरै जनको उद्धार गरिसकेको छ र उद्धार कार्य अझै पनि जारी छ । तर पनि आफन्त नभेटिएका परिवारले भने खोजी कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने माग गरिरहेका छन् भने घाइतेका आफन्तहरुले पनि सरकारले उपचार मात्रै गरेर नहुने र त्यसपछिको अवस्थामा पनि बिचार गरिदिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button