तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीका १८ घर पहिरोको उच्च जोखिममा

बैतडी । बैतडीको डिलासैनी गाउँपालिका–१ रामलामा जमिनमा ठाउँठाउँमा चिरा परेपछि पहिरोको जोखिम बढेको छ । बस्ती माथिको खेत तथा जमिनमा चिरा परेपछि गाउँ नै जोखिममा परेको स्थानीय भानदेव भट्टले बताउनुभयो । 

बस्तीभन्दा पाँच सय मिटर माथिको क्षेत्रमा आइतबार बिहान करिब ३ बजेको समयमा पहिरो गएपछि त्रास झन बढेको अर्की स्थानीय गौरी भट्टले बताउनुभयो । मर्क बारी लगायतका क्षेत्रमा जमिन भाँसिएर चिराचिरा परेको उहाँले बताउनुभयो । 

गाउँ नै जोखिममा रहेकाले स्थानीयहरूलाई आफन्तको घरमा सुरक्षित रुपमा बस्न आग्रह गरिएको वडा अध्यक्ष कृष्ण कुमार धामीले बताउनुभयो । बस्ती माथिको क्षेत्रमा आइतबार पहिरो आएको सूचना पाएपछि प्रहरी टोलीसहित घटनास्थल पुगेर निरीक्षण गर्दा निरन्तर वर्षा भएमा पहिरो आउने  र बस्ती नै बगाउने अवस्था रहेको वडा अध्यक्ष धामीले बताउनुभयो । 

बैतडीको रामला गाउँमा प्रहरी र जनप्रतिनिधिको टोली

बस्ती माथिको जमिनमा दरार देखिएकाले आसपासका घर जोखिममा रहेको उहाँले बताउनुभयो । त्यस क्षेत्रका १८ परिवार जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

जोखिममा रहेका १८ घरपरिवारमा गोरेदत्त भट्टका ९ जना, कृष्णदत्त भट्टका ६ जना, महावीर धामीका ६ जना, दुरा धामीका ५ जना, जसिदत्त भट्टका ७ जना, मनिदरा भट्टका ७ जना, लक्ष्मण जागरीका ५ जना, प्रताप जागरीका ११ जना, अकबर जागरीका ५ जना, नवराज भट्टका १५ जना, धौले खत्रीका ११ जना, कमल खत्रीका ४ जना, जसे खत्रीका ३ जना, कैले खत्रीका ९ जना, प्रकाश धामीका ४ जना, धनबहादुर खत्रीका ५ जना, ईश्वरदत्त भट्टका ७ जना र धर्मराज भट्टका ५ जना रहेका छन्।

प्रहरीको विवरणअनुसार ती १८ घरपरिवारमा कुल १२४ जना रहेका छन्। 

जमिनमा देखिएको दरारका कारण वर्षा थपिएसँगै जोखिम बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जोखिममा रहेका घरपरिवारको अवस्थाबारे निरन्तर निगरानी भइरहेको जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button