सगुना र फागमार्फत सुदूरको संस्कृति जोगाउँदै चन्द्रिका
बैतडी। सुदूरपश्चिमको पहिचान जोडिएका गरगहना अनि पोशाकमा झल्किएको अनुहार, अनि सुमधुर स्वरमा गाउँछिन्, सगुना र फाग ।

सुदूरपश्चिमको विशेष एवं मौलिक पर्व गौरा पर्वमा गाइने फाग तथा सगुनाहरु निरन्तर गाइरहनुहुन्छ । कला संस्कृतिसँग गहिरो सम्बन्ध बनाएर सबैमाझ पुर्याउने काम निरन्तर गरिरहनुभएको छ दार्चुलाको लेकम गाउँपालिका–५ मैखोलीमा जन्मिएकी चन्द्रिका जोशी ।
सुदूरपश्चिमको महत्वसँग जोडिएको गौरा पर्वमा गाइने फाग तथा सगुनलाई, सामाजिक सञ्जाल मार्फत सबै दर्शक श्रोतासामु पुर्याइरहनु भएको छ ।
सगुना र फाग भनेको सुदूरपश्चिममा धार्मिक तथा माङ्गलिक कार्यहरूमा गाइने परम्परागत लोकगीतहरू हुन् । यसमा धार्मिक भावना र भगवानको स्तुति बढी हुने गरेको छ ।
सुदूरपश्चिममा नयाँ पुस्ताले सिक्न हिचकिचाउने तथा लाज मान्ने र पुराना पुस्ताले सिकाउने प्रयत्न नगर्दा सुदूरपश्चिमको माङ्गलिक अवसरमा गाइने सगुना र फागहरू लोप हुने अवस्थामा पुगेका छन् ।
उमेरले २४ पुगेकी जोशी विज्ञान सँकायकी शिक्षिका हुन् । दार्चुलाको लेकममा जन्मिएकी चन्द्रिका अहिले रामेछापको पटनादेवि माविमा अध्यापन गराइरहनु भएको छ ।
भौगोलिक रूपमा सुदूरपश्चिमबाट टाढा भएपनि सामाजिक सञ्जाल फेसबुकमा चन्द्रिका जोशी नामक फेसबुक आइडीबाट नियमित सांस्कृतिक सगुना र फाग प्रस्तुत गरिरहनुहुन्छ ।
चन्द्रिकाले गौरा सुरु हुने दिन पञ्चमीदेखि विसर्जन गरिँदासम्मका छुट्टाछुट्टै अंशहरू प्रस्तुत गर्ने गर्नुहुन्छ ।
पछिल्लो समयमा युवा पुस्ताले संस्कृति बिर्सँदै गइरहेको महसुस भएपछि आफूले सामाजिक सञ्जालको माध्यमबाट संस्कृति बचाउने अभियान सञ्चालन गरिरहेको चन्द्रिका बताउनुहुन्छ । ”हजुरआमा र आमाबाट सुदूरपश्चिममा शुभ कार्यमा गाइने सबै प्रकारका सगुन र फागहरू सिकेकी हु, तर पछिल्लो समयमा युवाहरूले संस्कृति बिर्सँदै गएको महसुस गरे, त्यसैले अभियान नै सञ्चालन गरेर सगुना र फागहरू सामाजिक सञ्जालमा नियमित प्रस्तुत गर्ने गरिरहेकी छु,“ चन्द्रिकाले भन्नुभयो ।
सानै उमेरमा चन्द्रिकाले सगुना र फागहरू सिकेकी थिइन् । आफूमा सगुना तथा फागहरू सिक्ने व्यग्र इच्छा रहेकाले आमा र हजुरआमाबाट सिकेको चन्द्रिकाले बताउनुभयो ।
हजुरआमा स्व. कौसीला देवि जोशी शुभ कार्यमा गाइने फाग सगुनमा दखल हुनुहुन्थ्यो । चन्द्रिकाका अनुसार आमा अमतादेवि जोशीले पनि सगुन फाग लगायतका सांस्कृतिक ज्ञान कौशिलादेवि जोशीबाट हासिल गर्नुभएको थियो । हजुरआमा र आमाबाटै चन्द्रिकाले सुदूरपश्चिमको मौलिक संस्कृतिसँग जोगिएका सगुना र फागहरू गाएर धेरैको मन जित्नु भएको छ । उसो त बुवा हरिदत्त जोशी पनि ज्योतिषाचार्य हुनुहुन्छ । उहाँबाट पनि सांस्कृतिक विषयमा जानकारी हासिल गरेको जोशी सुनाउनुहुन्छ ।
करिब दुई महिनादेखि सामाजिक सञ्जालमा गौरा पर्वमा गाइने सगुन र भाग राख्दै आएकी चन्द्रिकाले त्यसपछि पञ्चमी तीज तथा विवाह व्रतबन्धमा गाइने सगुन तथा फागहरू राख्ने सोच मनाएको बताउनुभयो । सुदूरपश्चिमको माङ्गलिक कार्यमा गाइने सगुना र फागहरू समेटेर पुस्तक नै लेख्ने तयारी गरेको जोशीले बताउनुभयो ।
युवा पुस्ताले जति धेरै नयाँ कुरा सिक्ने कुरामा चासो राख्ने गरेको र आफ्नो संस्कृतिसँग जोडिएको ज्ञानलाई बिर्सन नहुनेमा जोशीको जोड छ ।
यसरी युवाहरूले संस्कृति जगेर्नामा लागेको देखेर अग्रजहरूले पनि प्रशंसा गर्ने गरेका छन् । नयाँ पुस्ताले संस्कृति संरक्षण गर्ने नयाँ चेलीको उदयको रुपमा आफूले हेरेको सांस्कृतिक अगुवा कलसा महराले बताउनुभयो । “सुदूरको संस्कृतिलाई फराकिला बनाउनमा योगदान दिने युवाको रुपमा चन्द्रिकालाई हेरेको छु, सम्मान छ उहाँलाई,” महराले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्