जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी

काठमाडौँ । सरकारले रसुवा बाढीका कारण प्रभावित जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी राखेको जनाएको छ । नेपाली सेनाले ती आयोजनामा विभिन्न देशका विज्ञ टोलीसहित खोज तथा उद्धार गरिरहेको हो । नेपाली सेनाले दिएको जानकारीअनुसार विभिन्न जलविद्युत् आयोजनाबाट हालसम्म २७९ जनाको उद्धार गरिसकेको छ ।
नेपाली सेनाको टोलीले रसुवागढी जलविद्युत् आयोजनाबाट दुई जनाको उद्धार गरेको छ । उक्त आयोजनामा चिनियाँ र नेपाली सेनाको संयुक्त टोलीले सुरुङको भित्री भागसम्म खोजी गरेको थियो । सेनाका अनुसार रसुवाको लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनाका लागि नेपाली सेनासँगै भारतीय उद्धार टोली र केही नेपाली सहयोगीहरूले आज बिहानदेखि सुरुङको मुख खोल्ने काम गरिरहेका छन् । नेपाली सेनाले मैलुङ खोला जलविद्युत् आयोजनाबाट नौ जनाको उद्धार भइसकेको जनाएको छ ।
माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट २५४ जनाको उद्धार भइसकेको छ । उक्त आयोजनाको सुरुङमा खोज तथा उद्धारको प्रयास भइरहेको छ । उक्त आयोजनामा नेपाली सेनासँगै कोरियन र चिनियाँ टोलीले काम गरिरहेको सेनाको भनाइ छ ।
नुवाकोट माथिल्लो त्रिशूली-थ्री ‘ए’ को सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको गरी ९० जनाको टोलीले खोज तथा उद्धारको प्रयास गरिरहेको छ । उक्त स्थानमा नेपाल विद्युत् प्राधिकरणको टोलीले पनि सहयोग गरिरहेको छ ।
माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाले दुई जनाको उद्धार गरिसकेको छ । हाल उक्त आयोजनामा नेपाली सेनाका थप नौ जना परिचालन गरी कूल ३१ जनाले खोज तथा उद्धारको काम गरिरहेका छन् । यहाँ चिनियाँ उद्धार टोलीले रेकी गरेपछि नेपाली सेनाले खोज तथा उद्धारको प्रयास सुरु गरेको हो ।
नुवाकोटको त्रिशूली जलविद्युत् आयोजनाबाट तीन जनाको उद्धार भइसकेको छ । सौर्य आयोजनाबाट चार जनाको र देवीघाट जलविद्युत् आयोजनाबाट पाँच जनाको उद्धार भइसकेको नेपाली सेनाले जनाएको छ । रासस







प्रतिक्रिया राख्नुहोस्