पशुपति क्षेत्रमा रोपाइँ जात्रा
काठमाडौँ । गाईजात्रा सप्ताहको तेस्रो दिन आज पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिर परिसरमा रोपाइँ जात्रा सम्पन्न भएको छ ।
सप्ताहव्यापी गाईजात्राको तेस्रो दिन अर्थात् भाद्र कृष्ण तृतीयाका दिन प्रत्येक वर्ष पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर परिसरमा यो जात्रा हुने गरेको छ । उक्त जात्रा हेर्न पशुपति क्षेत्रमा हजारौँ सर्वसाधारणको घुइँचो लागेको थियो । आम नागरिकले यस दिन देउपाटन क्षेत्रमा रोपाइँ गरेको अभिनय गर्दै जात्रा गर्ने गरेका पशुपति क्षेत्र विकास कोषअन्तर्गत अमालकोट कचहरी कार्यालयका द्वारे रामकृष्ण डङ्गोलले राससलाई जानकारी दिनुभयो ।
घोडचढीले पनि जात्रामा रौनकता थप्ने गरेका छन् । यो जात्रामा परम्परागत कृषि जीवनको झल्को पाइन्छ । पशुपति क्षेत्रका भकुंटोल, जयवागेश्वरी र तिलगङ्गाबाट जात्रा निकालिने गरिन्छ । रासस








प्रतिक्रिया राख्नुहोस्