तपाईँ सुन्दै हुनुहुन्छः

बेपत्ता व्यक्तिको अवस्था पत्ता लगाइदिन माग 

बर्दिया । बर्दियाका सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिका परिवारले नयाँ सरकारले पनि आफ्नो पिडा नबुझेको गुनासो गरेका छन् । उनीहरू सरकार समक्ष आफ्ना बेपत्ता पारिएका व्यक्तिको अवस्था पत्ता लगाइदिन माग गरेका छन् । 

१६ औँ अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा बर्दियाको गुलरियामा भएको अन्तरक्रिया कार्यक्रममा पीडितहरूले पुराना पार्टीले बेवास्ता गरेकै कारणले नयाँ पार्टीलाई जिताएर पठाउँदा समेत आफ्ना मुद्दा ओझेलमा परेको गुनासो गरेका छन् ।  

२०६३ सालमा विस्तृत शान्ति सम्झौता भएदेखि बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था पत्ता लगाइदिनका लागि माग गरे पनि हालसम्म पुरा नभएको पीडितहरूले बताएका छन् । बर्दिया बढैयातालकी बेपत्ताकी श्रीमती जुना सापकोटाले पुराना दलले बेपत्ताको मुद्दा सम्बोधन नगरेकै कारणले नयाँ दललाई जिताएर पठाएको बताउँदै बिना कारण बेपत्ता पारिएका व्यक्तिहरू छानविन आयोग विगठन गरेको गुनासो गर्नुभयो । 

बारबर्दिया नगरपालिका बस्ने बेपत्ताकी श्रीमती देविसरा वलीले अझ पनि समस्या समाधान नभएमा आगामी चुनाव बहिस्कार गर्ने बताउनुभयो । उहाँले भन्नुभयो –“हाम्रो समस्या कसैले समाधान नगर्ने हो आगामी चुनाव द्वन्द्वपीडित परिवार सबै मिलेर बहिस्कार गर्छौँ, समाजमा नेताहरूलाई छिर्न दिँदैनौँ ।”

कार्यक्रममा सहभागी पीडितहरूले अहिलेको सरकारले बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्नेमा ढुक्क रहेको बताएका छन् । कार्यक्रममा सहभागी राजनीति दलका वक्ताहरूले लामो समय देखि पीडामा रहेका बेपत्ता परिवारलाई न्याय र परिपुरणको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्ण कुस्मा थारूले आफु पनि बेपत्ता पारिएका व्यक्तिको परिवारको भएकोले बेपत्ताको समस्याको समाधानमा प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । 

दिवसको अवसरमा द्वन्द्वपीडित समितिको अगुवाइमा बर्दिया जिल्लामा र्‍यालीसहित अन्तरक्रिया कार्यक्रम गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button