त्रिशूली र चिरौँदीको बाढी: गल्छीमा ५२ परिवार विस्थापित
धादिङ। आज बिहान त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नदीले आफ्नो साबिकको धार परिवर्तन गर्दा धादिङका विभिन्न स्थानमा ठूलो क्षति पुगेको छ।

त्रिशूलीको बहाव बस्तीतर्फ सोझिँदा गल्छी गाउँपालिका-४ बेल्खुमा ४८ घरपरिवार विस्थापित भएका छन्। नदीले कटान सुरु गरेपछि जोखिममा परेका नागरिकहरूलाई बिहानैदेखि सुरक्षित स्थानमा सार्न सुरु गरिएको गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले जानकारी दिनुभएको छ। त्यसैगरी, गल्छीकै चिरौँदी खोलामा आएको बाढीका कारण थप ४ घरपरिवार विस्थापित भएका छन्।

बाढीकै क्रममा गजुरी गाउँपालिका-२, मलेखु नजिकै त्रिशूली नदीको बगरमा गाडिएको अवस्थामा एउटा सेफ फेला परेको छ। २ फिट लम्बाई र २ फिट उचाइ रहेको उक्त सेफ नेपाली सेना र नेपाल प्रहरीको टोलीले बगरबाट बाहिर निकालेका छन्। उक्त सेफ कुनै बैङ्क वा सुन पसलको हुनसक्ने अनुमान गरिएको छ।
सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध
यसैबीच, त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको बेनिघाट रोराङ गाउँपालिका(७, चरौँदी र कृष्णभीर नजिकै मुख्य सडक भासिएको छ। सडक भासिएपछि राजमार्गमा सवारी साधनको आवागमन पूर्ण रूपमा अवरुद्ध बनेको छ। प्रहरी तथा स्थानीय प्रशासनले सडक खुलाउने र सम्भावित जोखिम न्यूनीकरण गर्ने प्रयास गरिरहेका छन्।







प्रतिक्रिया राख्नुहोस्