भोटेकोसी बाढी: उदयपुरका ४ जना सम्पर्कमा, १५ जना अझै सम्पर्कविहीन
उदयपुर । भोटेकोसी नदीमा भदौ १० गते आएको भीषण बाढीपछि सम्पर्कविहीन बनेका उदयपुरका चार जना सम्पर्कमा आएका छन् । तीमध्ये तीन जना परिवारको सम्पर्कमा आएका हुन् भने एक जनालाई नेपाली सेनाले सकुसल उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन चापागाईंका अनुसार त्रियुगा नगरपालिका–९ का भोला राज कार्की (कुशल), उदयपुरगढी गाउँपालिकाका सुमन तामाङ र जीवन तामाङ परिवारको सम्पर्कमा आएका छन् । उदयपुरकै चण्डीराम खत्रीलाई भने नेपाली सेनाले सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।
भोटेकोसी बाढीपछि उदयपुर स्थायी ठेगाना भएका १५ जना अझै परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आफन्त तथा छिमेकीले प्रहरीमा दिएको निवेदनका आधारमा उनीहरूलाई सम्पर्कविहीनको सूचीमा राखिएको हो । प्रहरीले यो संख्या अझै बढ्न सक्ने जनाएको छ ।
प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा त्रियुगा नगरपालिका–१४ बाजगराका भेषराज माझी, मिलन माझी र चन्द्रबहादुर माझी रहेका छन् । उनीहरू रसुवा क्षेत्रबाट सम्पर्कविहीन भएको जनाइएको छ ।
त्यस्तै कटारी नगरपालिका–४ सोल्माका बुद्धिमान नेपाली, लिम्चुङबुङ गाउँपालिका–८ बलम्ताका सुमन समीर राई, त्रियुगा नगरपालिका–८ लाइनटोलका देवेन्द्र घिमिरे, त्रियुगा नगरपालिका–७ चक्लघाटका ध्रुव बस्नेत र उदयपुरगढी गाउँपालिका–७ तिरिबासका अरुण मगर पनि सम्पर्कविहीन रहेको प्रहरी विवरणमा उल्लेख छ ।
यसैगरी त्रियुगा नगरपालिका–१ रुपनीका बालकुमार राई र लिम्चुङबुङ गाउँपालिका–४ बलम्ताका प्रविन राई पनि सम्पर्कमा आएका छैनन्। उनीहरू नेपाली सेनामा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
बेलका नगरपालिका–१ का करुण विक, कटारी नगरपालिका–५ भोर्लेका प्रेम रोक्का, मोहनबहादुर सार्की, ओमकुमार सार्की र सोही वडाका लोकबहादुर विक पनि टिमुरे क्षेत्रबाट सम्पर्कविहीन रहेको प्रहरी विवरणमा उल्लेख छ ।
खोटाङ स्थायी घर भई त्रियुगा नगरपालिका–२ मोथियाहीमा हजुरबुवा तथा आफन्तसँग बस्दै आएका अनिल कामी पनि सम्पर्कविहीन रहेको परिवारले प्रहरीलाई जानकारी गराएको एसपी चापागाईँले बताउनुभयो ।
त्यस्तै सप्तरी स्थायी घर भई माइतीघर त्रियुगा नगरपालिका– १० बोक्सेमा रहेकी मणिका विश्वकर्मा र उनका पाँच वर्षीय छोरा रियाज विश्वकर्मा पनि सम्पर्कविहीन रहेको भन्दै माइती पक्षले उदयपुर प्रहरीलाई जानकारी गराएको प्रहरीले जनाएको छ ।
भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा घटनासम्बन्धी विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
परिवारजनले भने आफ्ना आफन्तको अवस्था यथाशीघ्र सार्वजनिक गर्दै खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाउन सरकारसँग आग्रह गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्