भोटेकोशी बाढी : मकवानपुरका ७५ जना सम्पर्कविहीन
मकवानपुर । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि मकवानपुर घर भएका ७५ जना व्यक्ति सम्पर्कविहीन भएका छन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार शुक्रवारसम्म ७५ जना परिवारका आफन्तले खोजी तथा उद्धारका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सम्पर्क गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका र हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूबारे जानकारी गराउन तथा खोजी र उद्धारमा सहयोग गर्न सूचना जारी गरिएको थियो । सोही क्रममा मकवानपुरका विभिन्न स्थानीय तहबाट रसुवा क्षेत्रमा गएका तथा कार्यरत ७५ जनाभन्दा बढी व्यक्तिका आफन्तले खोजीका लागि प्रशासनमा सम्पर्क गरेका हुन्।
जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार हेटौँडा उपमहानगरपालिकाका २६ जना, थाहा नगरपालिकाका २४ जना सम्पर्कविहीन भएका छन् ।
यस्तै मनहरी गाउँपालिकाका ९ जना, भीमफेदीका ६ जना, मकवानपुरगढीका २ जना, बकैया, राक्सिराङ, कैलाश र इन्द्रसरोवर गाउँपालिकाका १÷१ जना तथा पालिका स्पष्ट नभएका ४ जना रहेको जनाइएको छ ।
प्रजिअ अधिकारीका अनुसार प्रारम्भिक तथा आधिकारिक विवरणमा जिल्लाका विभिन्न स्थानीय तहका नागरिकहरू सम्पर्कविहीन रहेको पुष्टि भएको छ । उनीहरूमध्ये धेरैजसो बाढी प्रभावित क्षेत्रमा कन्टेनर तथा ट्रक चालक, सहचालक, मजदुर तथा गोसाईंकुण्ड दर्शन एवं भ्रमणका लागि गएका यात्रुहरू रहेको बुझिएको प्रजिअ अधिकारीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्