नुवाकोटमा बाढी प्रभावितको व्यवस्थापनका लागि १२ अस्थायी शिविर सञ्चालनमा
नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न नुवाकोटका विभिन्न स्थानीय तहमा १२ वटा अस्थायी शिविर सञ्चालनमा ल्याइएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले बाढी प्रभावितको तत्कालीन बसोबास व्यवस्थापन तथा राहत वितरणलाई सहज बनाउन विभिन्न विद्यालय, सामुदायिक भवन, कभर्ड हल र अन्य सार्वजनिक संरचनालाई अस्थायी शिविरका रूपमा प्रयोगमा ल्याएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
यही भदौ १० गते त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र किस्पाङ गाउँपालिकाका विभिन्न स्थानमा बाढीपीडितका लागि अस्थायी शिविर सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
विदुर नगरपालिकाअन्तर्गत विदुर–७ तुप्चे क्षेत्रमा रहेको पुस्तकालयलाई अस्थायी शिविरका रूपमा प्रयोग गरिएको छ । उक्त शिविरमा करिब २०० जनासम्मलाई व्यवस्थापन गर्न सकिने जनाइएको छ ।
यस्तै, विदुर–१ त्रिशूली–ढुङ्गे क्षेत्र तथा विदुर–४ सिमचौरमा रहेको सेफ हाउस र क्रियापुत्री भवनमा पनि प्रभावितलाई राख्ने व्यवस्था गरिएको छ । सो शिविरमा करिब १०० जनासम्म बसोबास व्यवस्थापन गर्न सकिने र हाल १६२ जना रहेको जनाइएको छ ।
विदुर–४ बट्टार क्षेत्रमा रहेको कभर्ड हललाई पनि अस्थायी शिविरका रूपमा सञ्चालन गरिएको छ । उक्त स्थानमा करिब २०० जनासम्मलाई व्यवस्थापन गर्न सकिनेछ ।
त्यसैगरी, विदुर–५ देवीघाट क्षेत्रमा रहेको आयुर्वेद वैकल्पिक चिकित्सालय तथा विदुर–१० बेत्रावती–भैँसे क्षेत्रमा रहेको सुन्दरी क्यौरिनी माध्यमिक विद्यालयलाई पनि प्रभावितको अस्थायी बसोबासका लागि प्रयोग गरिएको छ । सुन्दरी क्यौरिनी माविमा ३०० जनासम्म बस्न सक्ने क्षमता रहेकामा हाल २५३ जना रहेको जनाइएको छ ।
विदुर नगरपालिका–१ त्रिशूली बजार क्षेत्रमा रहेको कोलोनी कभर्ड हलमा पनि अस्थायी शिविर सञ्चालनमा ल्याइएको छ ।
यस्तै, विदुर–३ देविघाट सिटखाली क्षेत्रमा रहेको रणभुवनेश्वरी माध्यमिक विद्यालय तथा वडा कार्यालयलाई अस्थायी शिविरका रूपमा प्रयोग गरिएको छ । उक्त स्थानमा करिब ३०० जनासम्म व्यवस्थापन गर्न सकिनेमा हाल ४५० जना बसोबास गरिरहेका छन् ।
त्यसैगरी, बेलकोटगढी नगरपालिकाअन्तर्गत रातमाटे–जिलिङ क्षेत्रमा रहेको महादेव माध्यमिक विद्यालयलाई पनि बाढी प्रभावितको अस्थायी बसोबासका लागि प्रयोग गरिएको छ । उक्त शिविरमा करिब २०० जनासम्मलाई व्यवस्थापन गर्न सकिने व्यवस्था गरिएको छ ।
विदुर नगरपालिका–९ मा रहेको त्रिशूली आधारभूत विद्यालयमा पनि अस्थायी शिविर सञ्चालन गरिएको छ । उक्त शिविरमा करिब १०० जनासम्म बस्न सक्ने क्षमता रहेकोमा हाल ३५ जना रहेको छन् । सोही वडामा रहेको सुलक्षणा माध्यमिक विद्यालयमा पनि प्रभावितका लागि शिविर सञ्चालन गरिएको छ । त्यहाँ करिब १०० जनासम्मलाई व्यवस्थापन गर्न सकिने र हाल २० जना रहेको जनाइएको छ ।
किस्पाङ गाउँपालिका–५ कार्की गाउँस्थित कार्की मनकामना आधारभूत विद्यालयमा पनि बाढी प्रभावितलाई राख्ने व्यवस्था गरिएको छ । उक्त शिविरमा करिब ८० जनासम्मलाई व्यवस्थापन गर्न सकिनेछ । त्यस्तै, किस्पाङ–५ अर्चलेस्थित त्रिभुवन माध्यमिक विद्यालयलाई पनि अस्थायी शिविरका रूपमा सञ्चालनमा ल्याइएको छ । सो विद्यालयमा करिब २०० जनासम्मलाई बसोबास गराउन सकिने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार अस्थायी शिविरमा प्रभावितको बसोबास व्यवस्थापनसँगै राहत वितरण, आवश्यक समन्वय र उद्धारपछिको व्यवस्थापनका कामलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ । प्रभावितको अवस्था र आवश्यकताका आधारमा थप व्यवस्थापन गरिने जनाइएको छ ।
राहत व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयले विभिन्न कर्मचारीलाई फोकल पर्सनका रूपमा जिम्मेवारी तोकेको छ । प्रशासनिक अधिकृत रूपेशप्रसाद नेपाल, प्रशासनिक अधिकृत सावित्रा भण्डारी, नायब सुब्बा पवन भट्टराई र नायब सुब्बा कृष्णकुमार नेपाललाई राहत व्यवस्थापन तथा समन्वयको जिम्मेवारी दिइएको छ ।
बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्न स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायबीच समन्वय भइरहेको छ । शिविरमा रहेका प्रभावितको सङ्ख्या, बसोबासको अवस्था र आवश्यकताका आधारमा राहत तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापन गर्ने तयारी गरिएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्