रसुवा बाढी: कास्कीका ६ जना अझै सम्पर्कविहीन
कास्की। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको भीषण बाढीपछि कास्कीका ६ जना परिवारसँग सम्पर्कविहीन रहेको जानकारी जिल्ला प्रशासन कार्यालय कास्कीमा प्राप्त भएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पोखरा–५ निवासी सृष्टि बाँस्तोला, पोखराका अभिषेक आचार्य, पोखरा चाउथे निवासी गोविन्द अधिकारी तथा छोरेपाटन माविका शिक्षक महादेव पौडेलका परिवार सदस्य सविना मिश्रसँग बाढीपछिदेखि सम्पर्क हुन सकेको छैन।
इन्जिनियर सृष्टि बाँस्तोला तीन दिनअघि मात्र अपर त्रिशूली–३ बी ३७ मेगावाट जलविद्युत् आयोजनामा इन्टर्नका रूपमा पुग्नुभएको थियो। यस्तै, अभिषेक आचार्य रसुवाको लाङटाङ खोला हाइड्रोपावरमा प्रोजेक्ट सिभिल इन्जिनियरका रूपमा कार्यरत हुनुहुन्थ्यो भने गोविन्द अधिकारी रसुवा भन्सार कार्यालयमा कार्यरत रहेको परिवारजनले बताएका छन्। सविना मिश्र माथिल्लो त्रिशूली जलविद्युत्–१ आयोजना २१६ मेगावाट मा कार्यरत रहनुभएको थियो।
सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा अवस्थाबारे जानकारी उपलब्ध गराइदिन सम्बन्धित परिवारजनले सर्वसाधारणसँग अनुरोध गरेका छन्।
यसैबीच, बाढीले बगाएर तनहुँको त्रिशूली नदी किनारमा फेला परेका नौ शव पोखरा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो। उहाँका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव ल्याएर परीक्षण तथा व्यवस्थापनको काम सुरु गरिएको छ।
पोखरा ल्याइएका शवमध्ये पाँच पुरुष, एक महिला, एक बालक, एक बालिका र एक जनाको पहिचान खुल्न नसकेको शव रहेको बताइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार चितवनमा भेटिएका शवहरूको व्यवस्थापनमा कठिनाइ भएपछि ती शव पोखरा ल्याइएको हो। हाल शव परीक्षण तथा पहिचानको प्रक्रिया जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्