बैतडीसहित सुदूरपश्चिममा हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदै
बैतडी। बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ। पहाडी समुदायले हरेक वर्ष भाद्र संक्रान्तिलाई ओल्के पर्वका रूपमा मनाउने परम्परा छ।
ओल्के पर्वलाई सुदूरपश्चिमको जेठो पर्वका रूपमा समेत मनाउने गरिएको स्थानीय संस्कृतिका जानकार हरिलाल पन्तले बताउनुभयो। ओल्केपछि अन्य चाडपर्व सुरु हुने भएकाले यसलाई जेठो पर्व भनिएको उहाँको भनाइ छ।
‘ओल्को’ भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। यस दिन आफूभन्दा ठूलाबडा, मान्यजन तथा ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप कर्कलाको भित्री पात, गाभा, फलफूललगायत सामग्री दिने तथा मीठा परिकार खाने चलन छ।
ओल्के संक्रान्तिका दिन गाउँनजिकका अग्ला टाकुरामा सामूहिक रूपमा रूखका हाँगाबिँगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर थुपार्ने चलनसमेत छ। स्थानीय भाषामा यसलाई ‘बुढी हालेको’ भनिन्छ। भाद्र संक्रान्तिका दिन गाडिएको ‘बुढी’लाई असोज संक्रान्तिको साँझ सामूहिक रूपमा आगो लगाएर पोल्ने परम्परा रहेको स्थानीय शिक्षक केशव राज भट्टले बताउनुभयो। असोज संक्रान्तिलाई ‘बुढी पोल्ने संक्रान्ति’ भन्ने गरिन्छ।
ओल्के पर्वका दिन बिहानै नुहाइधुवाइ गरी विभिन्न परिकार बनाउने तथा आफन्त र मान्यजनलाई फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गुड र पकवानलगायत सामग्री कोसेलीका रूपमा दिने चलन छ। कतिपय ठाउँमा मन्दिरमा अन्न चढाएर ओल्को दिने परम्परासमेत रहेको निङ्गलाशैनी भगवती मन्दिरका मूल पुजारी देवदत्त भट्टले बताउनुभयो।
बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरमा नयाँ मकै चढाएर ओल्को दिने परम्परा पनि छ। बारीमा फलेका मकै, गाभालगायत कृषि उपज देवीदेवताका मन्दिरमा चढाएपछि मात्रै खाने चलन रहेकाले भाद्र संक्रान्तिका दिन ओल्को चढाउने गरिएको स्थानीय संस्कृतिका जानकार गंगासागर जोशीले बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्