तपाईँ सुन्दै हुनुहुन्छः

तीन महिनापछि खुल्यो मार्तडी–कोल्टी सडक, स्याउ ढुवानीमा सहजता

बाजुरा।वर्षायाम सुरु भएसँगै विगत तीन महिनादेखि अवरुद्ध रहेको मार्तडी–कोल्टी सडकखण्ड सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा डोजर प्रयोग गरी सडकका विभिन्न ठाउँमा गएको पहिरो पन्छाएपछि यातायातका साधन सञ्चालनमा आएका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो।

सडक सञ्चालनमा आएसँगै बाजुराको पूर्वी–उत्तरी क्षेत्रमा उत्पादित स्याउ सदरमुकाम मार्तडीसम्म ढुवानी गर्न सहज भएको छ। यसअघि असार दोस्रो सातादेखि सडक अवरुद्ध हुँदा किसानले स्याउ पिठ्युँमा बोकेर वा लामो वैकल्पिक मार्ग प्रयोग गरी बजारसम्म पुर्‍याउनुपर्ने बाध्यता थियो।

अहिले यातायात सञ्चालनमा आएपछि किसानले बारीबाटै सवारीसाधनमार्फत स्याउ मार्तडी बजारसम्म ल्याउन थालेका स्थानीय कृषक उज्जल रावतले बताउनुभयो।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा करिब ३ सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। गत वर्ष १ हजार २२ मेट्रिक टन स्याउ उत्पादन भएकोमा यस वर्ष उत्पादन अझ बढेको केन्द्रले जनाएको छ।

यद्यपि, पर्याप्त चिस्यान केन्द्रको अभाव तथा समयमै सुदूरपश्चिम प्रदेशको बजेट पारित नहुँदा स्याउ उत्पादन र बजारीकरणमा केही समस्या कायमै रहेको कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर विष्टले जानकारी दिनुभयो।

बाउली र रजातोली खोलामा पुल नहुनु तथा पहिरोको जोखिमका कारण हरेक वर्षायाममा मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदै आएको छ। करिब २७ वर्षअघि शिलान्यास भएको यो सडक अझै पूर्ण रूपमा स्तरोन्नति हुन नसक्दा स्थानीयवासीले बर्सेनि सास्ती खेप्दै आएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button