लोकतन्त्र सुदृढ बनाउन कांग्रेस एकजुट हुनुपर्नेमा जोड

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले लोकतन्त्र सुदृढीकरणका लागि कांग्रेस एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।
कांग्रेसको संस्थापन पक्षइतरको आजदेखि यहाँ सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँहरूले मुलुकमा सङ्कट र राष्ट्रियतामा चुनौती देखिएको अवस्थामा त्यसको समाधानका लागि पनि कांग्रेस एक ढिक्का हुनुपर्ने उल्लेख गर्नुभयो ।
समारोहमा पूर्व सहमहामन्त्री डा प्रकाशशरण महतले मुलुकमा जेनजी आन्दोलनको घट्नाजस्तै काँग्रेसमा नियमित महाधिवेशनको सट्टामा विशेष महाधिवेशन भएको बताउँदै यसको निर्वाचनको परिणाम अनपेक्षित आएको उल्लेख गर्नुभयो । साथै उहाँले असामान्य अवस्थामा मात्र सर्वोच्च अदालतमा पुनरावलोकन हुने गरेको उल्लेख गर्दै सर्वोच्चबाट सिङ्गो पार्टीलाई न्याय हुने अपेक्षा व्यक्त गर्नुभयो ।
पार्टीका नेता एवं पूर्वमन्त्री एनपी साउदले नियमित १५औँ महाधिवेशन तोकिएको अवस्थामा कुनै व्यक्तिको महत्त्वाकाङ्क्षाका कारण हतारमा विशेष महाधिवेशन गर्नुपर्दा पार्टी समस्यामा परेको बताउनुभयो । पूर्व सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले सिनियर नेताहरूको योगदान र सङ्घर्षलाई कदर गर्न नसके पार्टी अगाडि बढ्न नसक्ने उल्लेख गर्नुभयो ।
पूर्व गृहमन्त्री एवं पार्टीका नेता रमेश लेखकले १५औँ महाधिवेशन प्रक्रिया सुरु भइसकेको अवस्थामा आत्तिएर समयभन्दा छिटो विशेष महाधिवेशन गरिएकाले पार्टीमा समस्या आएको बताउनुभयो ।
कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले आफूहरू बिपीका अनुयायी भएको र बिपीको सिद्धान्तमा कसैसँग सम्झौता नहुने धारणा व्यक्त गर्नुभयो ।
पूर्वसञ्चार मन्त्री मोहन बस्नेतले पार्टीलाई सबल र सक्षम बनाउन परिपक्व नेताहरूको सुझाव र सल्लाहलाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो । समारोहमा नेताहरू पूर्णमान तामाङ, उमाकान्त चौधरी, भीमसेनदास प्रधान, दुर्लभ थापा, राजेश यादव, मेखराज श्रेष्ठ, गेहेन्द्र गिरि, शिवप्रसाद हुमागाईँ, उमा भट्टराई, गुरु बराल, सिता राना, पदमनारायण चौधरी, दीपक खड्का, सरिता प्रसाईँ, रेवती भुसाल, राजु श्रेष्ठ, गणेश तिमिल्सिना, जगत बरामलगायतले कांग्रेस एक ढिक्का बनाउनका लागि अब सबै सहभागी हुने गरी पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कांग्रेसको संस्थापन इतर पक्षको तीनदिने राष्ट्रिय भेला आजदेखि सुरु भएको हो । काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा भएको भेला सयौँ नेताकर्ताको उपस्थिति छ । प्रचारप्रसार समिति संयोजक मीनबहादुर विश्वकर्माका अनुसार आजदेखि सुरु भएको भेलाको शनिबार र आइतबार बन्द सत्र चल्नेछ । रासस







प्रतिक्रिया राख्नुहोस्