नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा
बाँके । हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व नाग पञ्चमीका अवसरमा बाँकेको नरैनापुर गाउँपालिकाले स्थानीय सार्वजनिक बिदा दिएको छ। धार्मिक तथा सांस्कृतिक विविधताले भरिएको नरैनापुरमा पर्वको सम्मान गर्दै दिइएको यो बिदाले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकताको सन्देश प्रवाह गरेको छ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष जयन्ती देवी श्रीवास्तवद्वारा जारी सूचनामा नाग पञ्चमीका अवसरमा गाउँ कार्यपालिकाको कार्यालय, मातहतका सम्पूर्ण वडा कार्यालय तथा गाउँपालिका क्षेत्रभित्रका शैक्षिक संस्थामा स्थानीय बिदा रहने जनाइएको छ। अत्यावश्यक स्वास्थ्य सेवा भने नियमित रूपमा सञ्चालनमा रहने गाउँपालिकाले जनाएको छ।
हिन्दू र मुस्लिम समुदायको उल्लेख्य बसोबास रहेको नरैनापुरमा विभिन्न धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै स्थानीय पर्वमा बिदा दिने निर्णयले ‘विविधतामा एकताको स्थानीय अभ्यासलाई थप बलियो बनाएको गाउँपालिकाको भनाइ छ। स्थानीय धार्मिक तथा सांस्कृतिक पर्वको सम्मान गर्नुका साथै सबै समुदायबीच आपसी सम्मान, भाइचारा र सद्भाव कायम राख्ने उद्देश्यले बिदा प्रदान गरिएको सूचनामा उल्लेख छ ।
गाउँपालिकाले नाग पञ्चमीको अवसरमा नरैनापुर क्षेत्रका सम्पूर्ण नागरिक, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक तथा देश–विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ ।
स्थानीय पर्व र संस्कृतिको संरक्षणसँगै सबै समुदायका धार्मिक आस्था र परम्पराको सम्मान गर्ने वातावरण निर्माण गर्न सके सामाजिक एकता अझ मजबुत हुने विश्वास गाउँपालिकाले लिएको छ । नरैनापुरमा नाग पञ्चमीका अवसरमा दिइएको स्थानीय बिदाले धार्मिक आस्थाको सम्मान मात्र नभई आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकताको सकारात्मक सन्देश समेत दिएको छ।
अत्यावश्यक सेवाबाहेक गाउँपालिका कार्यालय, वडा कार्यालय तथा शैक्षिक संस्था बन्द रहने भएकाले सम्बन्धित सेवाग्राहीलाई आफ्नो कामको योजना सोहीअनुसार बनाउन गाउँपालिकाले आग्रह गरेको छ।







प्रतिक्रिया राख्नुहोस्