तपाईँ सुन्दै हुनुहुन्छः

‘बोक्सी कुप्रथालाई जरैदेखि उखेल्न साझा प्रयास आवश्यक’

सुर्खेत । बोक्सीको आरोपमा हुने हिंसा, विभेद र मानवअधिकार उलङ्घनका घटना अन्त्य गर्ने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरमा सचेतनामुलक कार्यक्रम गरिएको छ । 

नेपालबाट बोक्सी कुप्रथा उन्मूलनको राष्ट्रिय महाअभियान अन्तर्गत ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले सुर्खेतका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम तथा वृत्तचित्र प्रदर्शनी गरेको हो । 

कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) सन्तोषसिंह राठोरले नेपाल प्रहरीले बोक्सी कु–प्रथाविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै पीडितलाई न्याय र सचेतना फैलाउन सधैँ हातेमालो गर्न तयार रहेको बताउनुभयो । शिक्षा तथा चेतनाको माध्यमबाट समाजमा रहेका यस्ता कुप्रथाहरूलाई जरैदेखि उखेल्न साझा प्रयास आवश्यक रहेको औँल्याउँदै अन्धविश्वास र अशिक्षाका कारण हुने यस्ता घटनाको उन्मूलनका लागि व्यावहारिक शिक्षा पुर्‍याउनु आवश्यक रहेको उहाँको भनाइ थियो । 

कार्यक्रममा आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले सामाजिक न्याय पाउन नसकेका बोक्सीको आरोप खेपिरहेका महिलाको मानव अधिकारको दयनीय अवस्था बारम्बार सार्वजनिक हुँदै आएकाले धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा वा अन्य आधारमा शारीरिक–मानसिक, यौनजन्य, मनोवैज्ञानिक र हिंसाजन्य कार्य रोक्न सबैको हातेमालो आवश्यक रहेको औँल्याउनुभयो । 

समाज सुधारक तथा इगरब्रिज बोर्डिङ माध्यमिक विद्यालयका संस्था हेमप्रकाश भुसालले बोक्सीको आरोपमा हुने हिंसा, विभेद र मानवअधिकार उल्लङ्घनका घटनाहरू समाजका लागि एक कलङ्क भएको बताउँदै यस्ता कुप्रथा र अन्धविश्वासलाई जरैदेखि उखेल्नका लागि यस्ता चेतनामूलक कार्यक्रमहरू आयोजना गरिनु सकारात्मक र सह्रानीय कदम भएको बताउनुभयो । 

कार्यक्रममा सीमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) का उपाध्यक्ष मनु राना क्षेत्रीले बोक्सीको आरोपमा महिलासँग कसरी अत्याचार हुन्छ र उनीहरू कतिसम्म पीडा सहन विवश छन् भन्ने कुरा ‘बोक्सी कु–प्रथाको उन्मूलनको राष्ट्रिय महाअभियान’ ले प्रस्तुत गरेको जनचेतनामूलक कार्यक्रम तथा वृत्तचित्र प्रदर्शनीले स्पष्ट पारेको बताउनुभयो । 

‘मान्छे बोक्सी हुन्न कहिल्यै’ राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष तथा अभियन्ता कोविद शरण उपाध्यायले बोक्सीका नाममा हुने अमानवीय व्यवहार अन्त्य गर्न सबै तहबाट सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । 

यता प्रहरीको तथ्याङ्कले बोक्सी आरोपका अधिकांश पीडित महिला रहेको तथा अन्धविश्वास, सामाजिक विभेद र कमजोर कानुनी कार्यान्वयनका कारण यस्ता घटना अझै दोहोरिने गरेको देखाएको छ । सरकारले ‘बोक्सीको आरोप (कसुर र सजाय) ऐन–२०७२ ऐन’ ल्याएको एघार वर्ष भइसकेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button