मधेश प्रदेशमा ९७.७१ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
जनकपुरधाम। धान उत्पादनका लागि अग्रणी मानिने मधेश प्रदेशमा साउनको अन्तिम सातासम्म धान खेती हुने कुल क्षेत्रफलको ९७.७१ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ।

यस वर्ष पर्याप्त वर्षा नभए पनि पटक-पटकको सामान्य वर्षा तथा सरकारी एवं निजी सिँचाइ प्रणालीको प्रयोगमार्फत किसानहरूले साउन २८ गतेसम्ममा उक्त प्रगति हासिल गर्न सफल भएका छन्।
मधेश प्रदेशका सिरहा तथा बारा जिल्लामा धान खेती हुने कूल क्षेत्रफलको शत प्रतिशत क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवले जानकारी दिनुभएको छ ।
मधेश प्रदेशका जिल्लाहरूमा वर्षेनी रुपमा खेती हुने ५ लाख ५२ हजार ७ सय ४५ हेक्टर क्षेत्रफल मध्ये ३ लाख ८२ हजार ४ सय ३३ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेको छ । मधेश प्रदेशमा हालसम्म ३ लाख ७३ हजार ६ सय ९३.२९ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको निर्देशनालयले जानकारी दिएको छ ।
जिल्लागत रुपमा सबै भन्दा कम रोपाई महोत्तरी जिल्लामा भएको छ । महोत्तरी जिल्लामा ८६.७० प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाई भएको छ । महोत्तरीमा ४० हजार हेक्टर क्षेत्रफलमा धान रोपाई हुँदै आएकोमा यस पटक हालसम्म ३४ हजार ७ सय २१ हेक्टरमा भएको छ ।
यसै गरि सप्तरी जिल्लामा धान खेती हुने कूल क्षेत्रफल मध्ये ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाई भएको छ । सप्तरी जिल्लामा ६८ हजार हेक्टर क्षेत्रफलमा वर्षेनी रुपमा धान रोपाई हुने गरेकोमा हालसम्ममा ६४ हजार ६ सय हेक्टरमा धान रोपाई सम्पन्न भएको छ ।
धनुषामा धान खेती हुने कूल क्षेत्रफल मध्ये ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ । धनुषामा ४३ हजार ७ सय हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेकोमा हालसम्ममा ४१ हजार ५ सय १५ हेक्टरमा धान रोपाई सम्पन्न भएको छ । यसै गरि सर्लाही जिल्लामा ९९ प्रतिशतमा धान रोपाई सम्पन्न भएको छ । सर्लाहीमा धानखेती हुने ४२ हजार ६ सय ९५ हेक्टर मध्ये हालसम्म ४२ हजार २ सय ६८.०५ क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ ।
यसै गरि रौतहट जिल्लामा धान खेती हुने कूल क्षेत्रफलको ९८ प्रतिशत क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ । रौतहटमा ३८ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म ३७ हजार ७ सय ३० हेक्टरमा रोपाई सम्पन्न भएको छ । पर्सा जिल्लामा पनि ९८ प्रतिशत क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ । पर्सामा धान रोपाई हुने ५३ हजार ९ सय ३८ हेक्टर क्षेत्रफल मध्ये ५२ हजार ८ सय ५९.२९ प्रतिशतमा धान रोपाई सम्पन्न भएको निर्देशनालयका सूचना अधिकारी सुदिप चौधरीले जानकारी दिनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्