राम्दीमा नेपालकै पहिलो ‘टाइड आर्च’ पुलको निर्माण अन्तिम चरणमा
स्याङ्जा । स्याङ्जा र पाल्पाको सीमा स्थित राम्दीमा निर्माण गरिएको नेपालकै पहिलो ‘टाइड आर्च’ प्रविधिको मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने महत्वपूर्ण मार्गमा निर्माण गरिएको नयाँ पुलको मुख्य संरचना निर्माण पूरा भइसकेको छ । पुलका दुवै किनारमा रहेका केही संरचना हटाउने, सामान्य फिनिसिङ र रङरोगनको काम मात्रै बाँकी रहेकाले ती काम सकिएपछि नियमित सवारी सञ्चालन गर्ने तयारी गरिएको छ ।
कालीगण्डकी नदीमाथि एक स्पानमा निर्माण गरिएको पुल १२० मिटर लामो र ११ मिटर चौडा छ । ‘कङ्क्रिट फिल स्टिल ट्युब आर्च ब्रिज’ अर्थात् ‘टाइड आर्च’ प्रविधिमा निर्माण भएको यो संरचना नेपालका लागि नयाँ प्रविधिको नमुना हो । यसको डिजाइन थाइल्यान्डका प्राविधिकले तयार गरेका हुन् । यही प्रकृतिका पुल अन्य मुलुकमा निर्माण भए पनि नेपालमा भने पहिलो पटक यो प्रविधि प्रयोग गरिएको हो ।
पुल सेक्टर पोखराका प्रमुख कृष्णप्रसाद अधिकारीले नयाँ पुलको भार वहन क्षमता ७० मेट्रिक टन रहेको बताउनुभयो । यसले पुरानो ट्रस पुलमा देखिँदै आएको भारी तथा मालवाहक सवारी सञ्चालनको समस्या हटाउने अपेक्षा गरिएको छ।
राम्दीको पुरानो ट्रस पुल सिद्धार्थ राजमार्ग निर्माणसँगै २०२२ सालमा बनाउन सुरु गरिएको थियो । २०२८ सालमा निर्माण पूरा भएपछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले पुलको उद्घाटन गर्नुभएको थियो । लामो समयसम्म गण्डकी र लुम्बिनी प्रदेश बीचको यातायात सञ्चालनमा यही पुल मुख्य आधार बन्दै आएको थियो ।
समयसँगै पुल जीर्ण बन्दै गएपछि यसको विकल्पका रूपमा नयाँ पुल निर्माण अघि बढाइएको हो । नयाँ पुल पुरानो पुल भन्दा २७ मिटर लामो रहेको अधिकारीले जानकारी दिनुभयो ।
नयाँ पुल निर्माणका लागि २०७९ असार ३० गते हिम सगरमाथा प्रालि, चितवनसँग ३ वर्षभित्र काम सक्ने गरी सम्झौता भएको थियो । निर्माण लागत रु. २७ करोड ७१ लाख ९ हजार ६ सय तोकिएको थियो तर डिजाइन निर्माणमा भएको ढिलाइ तथा भारतबाट आवश्यक निर्माण सामग्री र चीनबाट प्राविधिक विज्ञ समयमा उपलब्ध हुन नसक्दा आयोजना निर्धारित अवधिमा सम्पन्न हुन सकेन । त्यसपछि निर्माण अवधि असार २७ गतेसम्म थप गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्