तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय नाचघरमा ‘अनुश्रुति’, कथकमा विद्यार्थीको साधना र प्रस्तुति

काठमाडौं । एस्थेटिक डान्स एकेडेमीका दोस्रो सेमेस्टरका विद्यार्थीहरूले कथक नृत्यको अभ्यास, साधना र सिकाइलाई समेटेर ‘अनुश्रुति’ नृत्य प्रस्तुति सम्पन्न गरेका छन्।

राष्ट्रिय नाचघर, जमलमा शनिबार साँझ आयोजित कार्यक्रममा विद्यार्थीहरूले कथक नृत्यका चाल, सिद्धान्त, ताल, अभिनय तथा अभिव्यक्तिलाई प्रस्तुत गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले कथक नृत्यका शास्त्रीय तथा पौराणिक स्वरूप प्रस्तुत गरेका थिए। कालिदासको ‘अभिज्ञान शाकुन्तलम्’मा आधारित नृत्य, ‘कृष्ण वन्दना’ तथा कथकको मुख्य आधार मानिने ‘तीन ताल’को जुगलबन्दीलगायत विभिन्न लयबद्ध र भावपूर्ण नृत्य प्रस्तुत गरिएको थियो।

प्रस्तुतिमा कथकको शास्त्रीय सौन्दर्यसँगै विद्यार्थीहरूको भाव, अभिनय, लय र अभिव्यक्ति क्षमता पनि देखिएको थियो।

कार्यक्रमबारे प्रतिक्रिया दिँदै एस्थेटिक डान्स एकेडेमीकी विद्यार्थी तथा नृत्यांगना अनिसा पाठकले ‘अनुश्रुति’ केवल नृत्य प्रस्तुति नभई परम्परा, निरन्तर अभ्यास र कलात्मक अभिव्यक्तिको जीवन्त सङ्गम भएको बताउनुभयो।

शास्त्रीय नृत्यको ज्ञान र अभ्यासलाई पुस्तान्तरण गर्दै यसको सांस्कृतिक पक्ष नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

एस्थेटिक डान्स एकेडेमीले लामो समयदेखि कथक र भरतनाट्यमलगायत शास्त्रीय नृत्यका कक्षा सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button