बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रहरूमा नेपाली सेनाले खोज तथा उद्धार जारी राखेको छ ।

पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्सेमा आज बिहान काली गण्डकी नदी बस्तीमा पस्दा घरहरू बगाएको खबर प्राप्त भएपश्चात् नेपाली सेनाको नयाँ रणभिम गुल्मले उक्त स्थानमा स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण र सरसामानहरू सार्न सहयोग गरिरहेको छ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका–२ भुताहामा नारायणी नदीको बहाव पस्दा डुबानको जोखिम सिर्जना भएपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नं. २ वन तथा पर्यावरण सुरक्षा गणको फौज खटिएको र सुस्ता गाउँपालिका–५ स्थित सुस्ता इलाकामा स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

त्यस्तै, पाल्पाको माथागढी गाउँपालिका–३ लेन्दीमा पहिरोले घर पुरिएको स्थलमा दि फेमस महिन्द्र दल गणको फौजले खोज तथा उद्धार कार्य गरिरहेको छ ।
भरतपुर महानगरपालिका–१ देवघाटमा र भरतपुर महानगरपालिका–३ बाह्रघरेमा नारायणी नदीको सतह बढेकाले नयाँ सबुज गणको फौजले स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ ।

धनुषाको मिथिला नगरपालिका–११, आपगाछी, चुरेमा पहिरो गई घर पुरिएको स्थानमा नेपाली सेनाको फौज खोज तथा उद्धारमा खटिएको छ।

त्यसैगरी, तनहुँको व्यास नगरपालिका–१२ घाँसी कुवास्थित पृथ्वी राजमार्गमा पहिरो र लेदो आई अवरुद्ध भएको सडक खण्ड काली भञ्जन गण (ई) बाट खटिएको फौजले स्थानीय निकायसँगको सहकार्यमा पूर्ण रूपमा सुचारु गराएको छ।








प्रतिक्रिया राख्नुहोस्