तपाईँ सुन्दै हुनुहुन्छः

फेवातालमा उच्च क्षमताको रेस्क्यू जेट–स्की सञ्चालनमा

पोखरा । विश्व पर्यटन दिवसको अवसर पारेर पोखराको फेवातालमा आपत्कालीन उद्धारका लागि उच्च क्षमताको रेस्क्यू जेट–स्की सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आइतबार फेवातालमा उक्त रेस्क्यू बोटको उद्घाटन गरेसँगै औपचारिक रूपमा उक्त बोर्ट सञ्चालनमा आएको हो ।

तीन जना सिट क्षमताको उक्त रेस्क्यू जेट–स्की प्रतिघण्टा १०५ किलोमिटरसम्मको गतिमा सञ्चालन हुन सक्ने रहेको मेयर आचार्यले बताउनुभयो । फेवातालमा हुन सक्ने डुबान, ढुङ्गा पल्टिने तथा अन्य आपत्कालीन घटनामा शीघ्र उद्धार गर्ने उद्देश्यले यसको प्रयोग गरिने उहाँले जनाउनुभयो ।

रेस्क्यू जेट–स्की साउदी अरब सरकारको सहयोगमा प्राप्त भएको हो । साउदी अरब सरकारले कुलेखानी जलाशयमा समेत अर्को यस्तै रेस्क्यू जेट–स्की उपलब्ध गराइएको छ । करिब ४० लाख रुपैयाँ बराबरको लागत रहेको उक्त जेट–स्कीको व्यवस्थापन तथा सञ्चालन सशस्त्र प्रहरी बलले गर्ने भएको छ । उद्घाटनपछि रेस्क्यू जेट–स्कीको नमुना परीक्षणसमेत गरिएको थियो । उच्च गति र उद्धारका लागि उपयुक्त संरचनाका कारण फेवातालमा आपत्कालीन अवस्था सिर्जना हुँदा उद्धार टोलीलाई घटनास्थलसम्म छिटो पुग्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा सञ्चालनमा ल्याइएको रेस्क्यू जेट–स्कीले फेवातालमा पर्यटकको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने अपेक्षा गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवातालमा पर्यटकको सुरक्षित अनुभव सुनिश्चित गर्न उद्धार प्रणालीलाई थप प्रभावकारी बनाउनु आवश्यक रहेको बताउँदै नयाँ उद्धार बोटले आपत्कालीन अवस्थामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नयाँ उद्धार बोट सञ्चालनमा आएसँगै यस्ता घटनामा उद्धार कार्यलाई थप छिटो, सुरक्षित र प्रभावकारी बनाउन सकिने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button