रेडक्रसको अनियमितता सम्बन्धि उजुरी भदौ ३ गतेसम्म दिन सकिने
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीमा देखिएका भ्रष्टाचार, बेथिति र अनियमितता सम्बन्धि उजुरी सङ्कलन गर्ने अवधि थपिएको छ ।

रेडक्रस अनियमितता छानबिन समितिले आज पत्रकार सम्मेलन आयोजना गर्दै आगामी भदौ ३ गते बुधवारसम्म उजुरी दिन सकिने जनाएको छ । समितिका अध्यक्ष डा.दिपेश घिमिरेले उजुरी दिएर संस्थाको सुशासन, पारदर्शिता र जनविश्वास जगाउनका लागि सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ । प्राप्त सबै सूचना तथा उजुरीलाई निष्पक्ष, स्वतन्त्र र गोप्य ढंगले व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।
यस अघि असार दश गतेबाट ३५ दिनभित्र उजुरी आव्हान गरिएकोमा उजुरी आउने क्रम जारी रहेकाले २० दिन समय थप गरिएको समितिले जनाएको छ ।
पछिल्लो समय संस्थाको छवि र निष्ठामा नकारात्मक प्रभाव परेको भन्दै त्यसको निराकरणका लागि छानबिन प्रक्रिया अघि बढाइएको समितिका अध्यक्ष डा.घिमिरेले बताउनुभयो ।
प्राप्त उजुरी तथा गुनासोको अध्ययन गर्न बनेको समितिमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा भ्रष्टाचारविरुद्ध अध्ययन अनुसन्धान विज्ञ डा. घिमिरेको नेतृत्वमा अधिवक्ता यशस्वी थापा र चार्टर्ड एकाउन्टेन्ट सतिश सुवेदी सदस्य रहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्