पाकिस्तानको ब्रड पिक आरोहण: सम्पर्कविहीन दोलखाका किलि पेम्बाको शव भेटियो

दोलखा । पाकिस्तानको ब्रड पिक (८०४७ मी.) मा हिमपहिरोमा परी सम्पर्क विहीन भएका दोलखा गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ बेदिङका ४५ वर्षीय किलि पेम्बा शेर्पा (किलु) को पनि शुक्रवार शव भेटिएको उनको काका हिमआरोही दावाछिरी शेर्पाले बताएका छन् ।
यस अघि अर्का नेपाली आरोही पुरबहादुर गुरुङ (युक्ता) को शव भेटिएको विवरण सार्वजनिक भएको थियो । नेपाल सरकारले भने अहिलेसम्म आरोहीहरू कसैको पनि निधन भएको पुष्टि गरेको छैन ।
पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) नेतृत्वको १० जनाको ब्रड पिक आरोहण टोलीमा नेपालका निर्मल पुर्जा सहित किलि पेम्बा शेर्पा, पुरबहादुर गुरुङ (युक्ता), निमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका थिए ।
उक्त टोली बिहीबार बिहानै ८,०४७ मिटर उँचाइको ब्रोड पिक सफल आरोहण गर्ने लक्ष्य सहित अघि बढेको थियो । तर बिहीबार मध्यान्नतिर हिम पहिरोमा परेर उनीहरू सम्पर्क विहीन भएका थिए ।

हिम पहिरोमा मृत्यु भएका दोलखाका किलि पेम्बा शेर्पा (किलु) ले हिमाल आरोहणमा दुईवटा विश्व कीर्तिमान कायम गरिसकेका थिए । किलि पेम्बाले गत असोजमा ८ हजार मिटर माथिका १४ वटा हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । त्यसैगरी उनले सन् २०२१ जनवरी १६ मा १० सदस्यीय आरोहण टोलीमा सहभागी भएर विश्वको दोस्रो अग्लो हिमाल के– टु को पहिलो शीतकालीन सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको उनका काका हिमआरोही दावाछिरी शेर्पाले बताए ।
किलि पेम्बा शेर्पा (किलु) विश्वको सर्वोच्च शिखर सगरमाथाको १५ पटक सफल आरोहण गरेका थिए । १८ वर्षको उमेर देखि भरियाको रुपमा हिमाल आरोहणमा सहभागी भएका किलि पेम्बा शेर्पा (किलु) आरोहीको गाइड हुँदै आरोहण क्षेत्रको विश्व कीर्तिमानी समेत बनेका थिए ।
हिम पहिरोमा परेर मृत्यु भएका विश्वकिर्तिमानी आरोही किलि पेम्बा शेर्पा (किलु) को शव पाकिस्तानबाट नेपाल ल्याउन तत्काल पहल गरिदिन आरोही किलि पेम्बाका काका दावाछिरी शेर्पाले नेपाल सरकारसँग आग्रह गरेका छन् ।
दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ का वडा अध्यक्ष निमा गेल्जी शेर्पा दुई वटा विश्व कीर्तिमान कायम गरिसकेका किलि पेम्बा शेर्पा (किलु) को आरोहणको क्रममा निधन भएको खबरले वडाका सबै नागरिक स्तब्ध भएको बताए । उनले किलि पेम्बाको निधनबाट वडालाई अपुरणीय क्षति पुगेको बताए । मृतकको शव नेपाल ल्याउने कुरामा वडाले पनि सम्बन्धित ठाउँमा आवश्यक पहल गर्ने वडा अध्यक्ष निमा गेल्जीले बताए ।








प्रतिक्रिया राख्नुहोस्