तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चार मन्त्रीको निर्देशन 

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत् प्रणाली जडान गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वयका लागि निर्देशन दिनुभएको छ ।

सञ्चार मन्त्रालयमा आज आयोजित अन्तर निकाय छलफलमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी, नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल लगायतका पदाधिकारीहरू उपस्थित हुनुहुन्थ्यो । छलफलमा नेपाल टेलिकमका ‘बेस ट्रान्ससिभर स्टेशन’ (बीटीएस), टावर तथा अन्य दूरसञ्चार उपकरणमा भरपर्दो विद्युत् आपूर्ति नपुग्दा देशका विभिन्न क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवामा समस्या देखिएको विषयमा विस्तृत समीक्षा गरिएको थियो । 

छलफलमा सञ्चारमन्त्री डा तिमिल्सिनाले नागरिकलाई गुणस्तरीय र भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै अब समस्या पहिचानमा मात्रै सीमित नभई नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिनुभयो । उहाँले नेपाल टेलिकमले राख्ने टेलिफोन टावरमा विद्युत् पहुँच पुर्‍याउनका लागि टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबिच स्थायी समन्वय प्रणाली विकास गर्न कार्य समूह गठन गरी स्पष्ट कार्ययोजना सहित अघि बढ्न निर्देशन समेत दिनुभयो ।

उहाँले फोरजी सेवाको गुणस्तर सुधार गर्दै क्रमशः फाइभजी सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणमा तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । दुर्गम तथा ग्रामीण क्षेत्रमा टेलिफोन र उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) को रकम प्रभावकारी रूपमा परिचालन गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

उहाँले काठमाडौँ उपत्यकासहित प्रमुख सहरमा अव्यवस्थित रूपमा झुन्डिएका तार व्यवस्थापनका लागि पनि नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताउँदै सहरी सौन्दर्य र सुरक्षित पूर्वाधार निर्माणका लागि तार व्यवस्थापनलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।

छलफलमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले विद्युत् पहुँचको अभाव दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा विस्तारको प्रमुख चुनौती बनेको बताउनुभयो । उहाँका अनुसार हाल नेपाल टेलिकमका ३१६ वटा टावरमा राष्ट्रिय प्रसारण लाइनबाट भरपर्दो विद्युत् उपलब्ध छैन र ती टावर सोलार ऊर्जाको भरमा सञ्चालन भइरहेका छन् ।

साथै उहाँले नेपाल टेलिकमले करिब दुई हजार नयाँ टावर निर्माण गर्ने योजना अघि बढाएको जानकारी दिँदै तीमध्ये करिब १४ सय टावरमा नेपाल विद्युत् प्राधिकरणबाट नयाँ विद्युत् लाइन विस्तार गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । सञ्चालनमा रहेका कतिपय टावरमा समेत कम भोल्टेजका कारण उपकरण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको उल्लेख गर्दै नयाँ साइटमा विद्युत् जडान, पुराना साइटमा भरपर्दो आपूर्ति तथा भोल्टेज क्षमता वृद्धि आवश्यक रहेको धारणा राख्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरूले टेलिकमका टावरमा विद्युत् पहुँच विस्तार गर्न हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाउँदै विगतमा दुई निकायले छुट्टाछुट्टै योजना बनाउँदा आवश्यक समन्वय हुन नसकेको बताउनुभयो । आगामी दिनमा नेपाल टेलिकमले नयाँ टावर निर्माण गर्ने स्थानमा विद्युत् पूर्वाधार पनि सँगसँगै विस्तार गर्ने गरी संयुक्त योजना बनाउनुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।

प्राधिकरणले कम भोल्टेजको समस्या समाधान गर्न प्रसारण तथा वितरण लाइनको क्षमता विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखिने जानकारी दिँदै विगतका कमजोर पूर्वाधारलाई क्रमशः सुधार गरी सेवा थप भरपर्दो बनाइने बताएको छ । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले देशव्यापी पूर्ण विद्युतीकरण अभियानमा नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य भइरहेको जानकारी दिँदै दुर्गम तथा ग्रामीण क्षेत्रमा लघु जलविद्युत् र सौर्य ऊर्जामार्फत टेलिकम टावरमा विद्युत् उपलब्ध गराउन केन्द्रले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button