तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा फेरि कर्फ्यु, दुहबीमा शान्ति र सद्भाव र्‍याली

सुनसरी । सुनसरीमा शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालयले पूर्व–पश्चिम महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्र आसपासमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज (साउन १२ गते) दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा हस्ताक्षरित आदेशअनुसार कर्फ्यु लागू गरिएको तोकिएको क्षेत्रभित्र सर्वसाधारणलाई आवतजावत गर्न तथा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न निषेध गरिएको छ।

प्रशासनका अनुसार कर्फ्यु लागू हुने क्षेत्रको पूर्वतर्फ पकली चोकसम्म, पश्चिमतर्फ कोशी ब्यारेजको पुलसम्म तथा महेन्द्र राजमार्गको उत्तर र दक्षिणतर्फ २०० मिटर क्षेत्रसम्म रहेको छ। साथै इनरुवा बजार क्षेत्रमा समेत कर्फ्यु आदेश लागू गरिएको छ।

यसैबीच, सुनसरीको दुहबीमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देशसहित सद्भाव र्‍याली आयोजना गरिएको छ। पछिल्लो संवेदनशील परिस्थितिमा सामाजिक सद्भाव कायम राख्दै आपसी एकता र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको हो।

यस्ता संवेदनशील समयमा सबै नागरिक, राजनीतिक दल, सामाजिक अगुवा तथा सरोकारवालाले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै हिंसा, द्वेष र उत्तेजना फैलाउने गतिविधिबाट टाढा रहन आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

जिल्ला प्रशासन कार्यालयले तोकिएको क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटना हुन नदिन कर्फ्यु आदेश जारी गरिएको जनाएको छ। प्रशासनले कर्फ्यु आदेशको पूर्ण पालना गर्न सबैमा आग्रह समेत गरेको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button