सञ्चारमन्त्रीद्वारा नुवाकोटको विद्युत् सेवामा देखिएका समस्या समाधान गर्न निर्देशन
काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य हुनुभएका सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नुवाकोट जिल्लाको समग्र विद्युत् आपूर्तिको अवस्था, पूर्वाधार तथा नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रवाहको अवस्थाबारे जानकारी लिँदै सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले आज नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख राजकुमार रमणसँग छलफल गर्दै जिल्लामा विद्युत् आपूर्तिको अवस्था, वितरण प्रणाली, आवश्यक पूर्वाधार, सेवा प्रवाहमा देखिएका समस्या तथा तिनको समाधानका थालिएका पहलबारे विस्तृत जानकारी लिनुभएको हो ।
छलफलका क्रममा उहाँले जिल्लावासीबाट पटक पटक विद्युत् ‘झ्यापझ्याप’ जाने (बारम्बार विद्युत् अवरुद्ध हुने) समस्याबारे गुनासो आउने गरेकाले यसलाई प्राथमिकताका साथ समाधान गर्न निर्देशन दिनुभयो । विद्युत् आपूर्ति नियमित, भरपर्दो र गुणस्तरीय बनाउन आवश्यक प्राविधिक सुधार तथा व्यवस्थापनका काम तत्काल अघि बढाउन मन्त्रीले सरोकार भएकालाई निर्देशन दिनुभयो ।
सञ्चारमन्त्री तिमिल्सिनाले नागरिकको माग र आवश्यकताअनुसार ट्रान्सफर्मर, विद्युत्का खम्बा, तार तथा अन्य आवश्यक सामग्रीको उपलब्धता सुनिश्चित गर्न निर्देशन दिँदै जिल्लाको वास्तविक आवश्यकता अनुसार विद्युत् पूर्वाधार पर्याप्त भए/नभएको मूल्याङ्कन गरी आवश्यक स्थानमा तत्काल विस्तार गर्नुपर्ने बताउनुभयो ।
जिल्लाका केही स्थानमा नेपाल टेलिकमका टावरसम्म विद्युत् पहुँच नपुग्दा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको विषयमा मन्त्री तिमिल्सिनाले चासो व्यक्त गर्नुभयो । दूरसञ्चार सेवा प्रभावकारी बनाउन आवश्यक स्थानमा विद्युत् विस्तार गरी टेलिकमका टावरमा नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न आग्रह गर्नुभयो ।
छलफलका क्रममा नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख रमणले जिल्लामा विद्युत्को ठूलो प्रकृतिको समस्या नरहेको जानकारी दिनुभयो । उहाँका अनुसार केही स्थानमा अझै पुराना नाङ्गा तार प्रयोगमा रहेकाले त्यस्ता क्षेत्रमा क्रमशः कालो (इन्सुलेटेड) तार प्रतिस्थापन गर्ने प्रक्रिया अघि बढाइनेछ ।







प्रतिक्रिया राख्नुहोस्