तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी क्रियाकलाप नगर्न आग्रह

सुदूरपश्चिम । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको छ । 

विश्वविद्यालय स्थापनार्थ नागरिक तहबाट गठित सङ्घर्ष समितिले आज कैलालीको धनगढीमा पत्रकार सम्मेलन गरी दशकौँदेखिको प्रयासपछि विश्वविद्यालय सञ्चालनको प्रक्रियामा रहेकाले त्यसमा अवरोध हुने कुरा स्वीकार्य नभएको उल्लेख गरिएको छ । सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले डा गोविन्द केसीले सुरु गर्नुभएको अनशनबारे गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सुदूरपश्चिम र सिङ्गो देशको गौरवका रुपमा रहेको सो विश्वविद्यालय सञ्चालनमा कुनै अवरोध नगर्न आग्रह गर्नुभयो ।  

“यो विश्वविद्यालय सुदूरपश्चिमका २७ लाख नागरिकको साझा पूर्वाधार हो । यसमा सरकार, नागरिक र सरोकार भएकाहरूको दशकौँदेखिको योजना, दबाब, सङ्घर्ष र सपना जोडिएको छ”, संयोजक पाण्डेले भन्नुभयो, “त्यो सपना पूरा हुने अवस्थामा रहेका बेला डा केसी र अन्य कसैले कुनै पनि बहानामा अवरोध गर्नुहुँदैन ।”

संयोजक पाण्डेले अनसनरत डा केसीले विश्वविद्यालयसम्बन्धी विषयलाई पहिलो बुँदामा राखेर आन्दोलन गर्नु जायज नभएको भन्दै पदाधिकारी नियुक्तिमा कुनै असहमति भए कानुनी बाटो अपनाउन आग्रह गर्नुभयो । 

सङ्घर्ष समितिले कसैले अनसन वा आन्दोलन गरेकै भरमा विश्वविद्यालयका बाँकी काममा अवरोध आउने अवस्था नआउनेतर्फ सचेत रहन सरकारको ध्यानाकर्षण गराएको छ । 

डा केसीले पाँच बुँदे माग राख्दै बिहीबारदेखि कैलालीको धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनिश्चितकालीन अनशन सुरु गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button