‘इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ’
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उँचो बनाएर गौरवका साथ उभिन सकेका बताउनुभएको छ ।

राष्ट्रिय विभूति भीमसेन थापाको २२५औँ जन्मजयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रमलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्ने बताउनुभयो ।
राष्ट्रपति पौडेलले वीर पुर्खाले हाम्रो राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता एवं सार्वभौमसत्ताका लागि गरेको बलिदान र पु¥याएको योगदान स्तुत्य भएको बताउनुभयो । उहाँले आपसी भाइचारा, मित्रता, सहिष्णुता र एकताको जगमा राष्ट्रिय एकतालाई मजबुत बनाउँदै राष्ट्रप्रेमप्रतिको अगाध आस्था तथा प्रतिबद्धतालाई किमार्थ विचलित हुन दिन नहुने स्पष्ट पार्नुभयो ।
राष्ट्रपति पौडेलले बहुआयामिक व्यक्तित्वको छवि बनाउनुभएका भीमसेन थापा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता विरुद्ध कहिल्यै नझुकेको उल्लेख गर्दै देशभक्ति उहाँको मूलमन्त्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अङ्ग्रेजसँग भएको युद्धमा ठूलो मूल्य चुकाउनुपरे पनि उहाँको राष्ट्रभक्तिकै अडानले नेपाल स्वतन्त्र रहन सक्यो ।”
थापा एक इमानदार र कुशल प्रशासक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आफ्नो शासनकालमा सामाजिक, आर्थिक, कानुनी, सेनाको आधुनिकीकरणलगायत क्षेत्रमा गर्नुभएको सुधारका कार्य प्रशंसनीय रहेको बताउनुभयो । कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई सम्मान गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्