तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थीको विदेश मोह: सेडाको अनुसन्धान

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा)ले नेपाली विद्यार्थीको विदेश मोहको कारण र आकर्षणबारे अनुसन्धानका लागि राष्ट्रिय कार्यशाला आयोजना गरेको छ ।

विद्यार्थीलाई विदेश जान मन लाग्नुका तथ्यगत विषयवस्तु र त्यसलाई के कति कारणले उत्प्रेरित गरिरहेको छ, भन्ने विषयमा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा ‘स्टुडेन्ट आउटमाइग्रेसन फ्रम नेपाल: डाइभर्स एण्ड पोलिसी रेस्पोन्स’ शीर्षकमा अध्ययन हुन लागेको हो ।

अनुसन्धानले उच्चमाध्यामिक तथा विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थी, अभिभावक लगायतका सरोकार भएका पक्षसँग गहिरो अनुसन्धान र समीक्षा गरी नेपाल सरकारलाई नीतिगत पृष्ठपोषण प्रदान गर्ने जनाइएको छ  ।

सेडाका कार्यकारी निर्देशक प्रा.डा. अर्जुनकुमार बरालले पछिल्लो समयमा नेपाली विद्यार्थीहरू विदेशका कैयौँ मुलुकमा अध्ययनका लागि गइरहेको अवस्थामा त्यसको आर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिक एवं प्राविधिक कारणहरूका बारेमा अध्ययन गर्न लागिएको बताउनुभयो ।

 अनुसन्धानमा सेडाका तर्फबाट कार्यकारी निर्देशक प्रा. डा. बराल र डा. राम कुमार फुयाल, कृषि तथा वन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा.ऋषिराम कट्टेल र अर्थशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक नवीन अधिकारी संलग्न हुनुहुन्छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button